Logo

विद्युतीय सवारी चढ्नेलाई सहज, देशभर एकैसाथ संचालनमा आए ५१ चार्जिङ स्टेशन

विद्युतीय सवारी चढ्नेलाई सहज, देशभर एकैसाथ संचालनमा आए ५१ चार्जिङ स्टेशन



काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन आजदेखि संचालनमा ल्याएको छ ।

laxmi

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्राधिकरणले देशभरका विद्युतीय चार्जिङ स्टेशन एकैसाथ औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेत र उर्जा सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा भृकुटीमण्डपस्थित पुलिस क्लवको चार्जिङ स्टेशनमा रिवन काटेर देसभरका चार्जिङ स्टेसनहरु संचालनमा ल्याएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनलाई न्युनिकरण गर्न देशभर एकैसाथ धेरै चार्जिङ स्टेशन संचालनमा ल्याईएको बताए ।

पछिल्लो समय नेपालमा बढ्दै गएको विद्युतीय सवारीसाधनको प्रयोगलाई झन प्रवद्र्धन गर्नका लागि अझै सरकारले देशव्यापी रुपमा चार्जिङ स्टेशनको विस्तारका लागि सरकारले काम गरिरहेको उनको भनाई छ ।

‘हामीले आज देशभरका विभिन्न ५१ स्थानमा चार्जिङ स्टेशनको औपचारिक उद्घाटन गरेका छौं, यो सुरुवात मात्रै हो,’ उनले भने, ‘अब चार्जिङ स्टेशनको विकास र निर्माणका लागि निरन्तर लाग्ने कार्य अघि बढाउने बाटो खुलेको छ ।’

यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यससँगै अब देशभर विद्युतीय सवारीसाधन संचालनमा सहजीकरण भएको बताए ।

नेपालमा उत्पादित बिजुलीको भरपुर र उच्च खपतका लागि भन्दै गरिएको खपत वृद्धि अभियानमा पनि चार्जिङ स्टेशन संचालनमा आएपछि सहयोग पुग्ने उनको भनाई ।

‘हामीले विद्युत खपतमा निरन्तर जोड दिईरहेका छौं, यसलाई सहजीकरण गर्न देशभर ५१ चार्जिङ स्टेशन संचालनमा ल्याएका हौं,’ उनले भने, ‘अब थप ११ वटा चार्जिङ स्टेशन निर्माणको चरणमा छन् ।’

कार्यक्रममा बोल्दै उनले अब चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई पनि सहजीकरण गर्ने गरी नीति संशोधनको तयारी गरिएकोसमेत जानकारी दिए । ‘अब सबै क्षेत्रमा सरकारले मात्रै गर्न सक्ने अवस्था रहँदैन, निजी क्षेत्रलाइ पनि यसको निर्माणमा सहजीकरण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘निजी क्षेत्रलाई चार्जिङ स्टेशन निर्माणका लागि कानुनी सहजीकरणको प्रक्रिया अघि बढाएका छौं ।’

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरु पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टशन निर्माण गरिसकेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन् ।

प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशनबाट चार्ज गर्दा कारमा औषत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेसन स्थापना गरेको घिसिङ बताउँछन ।
उनका अनुसार हरेक चार्जिङ स्टेसनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एडीबीको सहयोगमा उक्त चार्जिङ स्टेसनहरु निर्माण गरी स.चालनमा ल्याईएको हो ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिएको छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुने बताईएको छ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन संचालनमा आएका स्थानहरु :

१. विर्तामोड वसपार्क झापा २
२. दमक चार्जिङ केन्द्र झापा २
३. विराटनगर वसपार्क मोरङ १
४. इनरुवा वसपार्क सुनसरी १
५. वेलका चार्जिङ केन्द्र उदयपुर २
६. प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा सप्तरी २
७. हरिऔन रिफ्रेस सेन्टर सर्लाहि १
८. इलाका प्रहरी कार्यालय, निजगढ बारा २
९. हेटौँडा चार्चिङ सेन्टर, रातामाटे मकवानपुर २
१०. पारस वसपार्क चितवन २
११. मुग्लिन पुल चितवन १
१२. इलाका प्रहरी कार्यालय, खानीखोला धादिङ २
१३. साझा सेवा, वल्खु काठमाडौं २
१४. साझा यातायात ललितपुर २
१५. साझा सेवा वनेपा २
१६. नेपाल पुलिस क्लव काठमाडौं १
१७. नेपाल विद्युत प्राधिकरण काठमाडौं १
१८. लुम्विनी प्रदेश प्रहरी कार्यालय, वुटवल रुपन्देही २
१९. इलाका प्रहरी कार्यालय, वर्दघाट नवलपरासी २
२०. भैरहवा वसपार्क रुपन्देही १
२१. इलाका प्रहरी कार्यालय, गोरुसिंहे कपिलवस्तु २
२२. लमही नयाँ वसपार्क दाङ २
२३. नेपाल ए पि अफ स्कुल, कोहलपूर वाके २
२४. सशस्त्र प्रहरी बल , वैद्यनाथ वाहिनी कैलाली कैलाली १
२५. नयाँ वसपार्क, सुर्खेत सुर्खेत २
२६. पर्यटक वसपार्क, पोखरा कास्की १
२७. लेकसाइड कास्की १
२८. वसपार्क र हावा घर नुवाकोट २
२९. सिन्धुलीगढी वसपार्क सिन्धुली १
३०. खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली २
३१. इलाका प्रहरी कार्यालय, वर्दिवास महोत्तरी १
३२. सशस्त्र प्रहरी वल, शैलेश्वरी कन्चनपुर १

प्रतिक्रिया दिनुहोस्
MBL