Logo

अर्थमन्त्रीको आव्हान-रोजगारी सिर्जना गराैँ युवा विदेशिन रोकौं, बैंकर भन्छन्–युवाले लिएको कर्जा तिर्दैनन्

अर्थमन्त्रीको आव्हान-रोजगारी सिर्जना गराैँ युवा विदेशिन रोकौं, बैंकर भन्छन्–युवाले लिएको कर्जा तिर्दैनन्



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले युवाहरुलाई विदेश जानबाट जवर्जस्ती रोक्न नसकिने बताएका छन् । बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

laxmi

कार्यक्रममा उनले पछिल्लो समय अवसरको खोजीमा विदेशिने युवाका हातबाट पासपोर्ट खोसेर युवा पलायन रोक्नुभन्दा पनि नेपालमा अवसरको सिर्जना गरेर पलायन रोक्नुपर्नेमा जोड दिनुपर्ने बताए । ‘युवालाई विदेश जाँदै नजाउ भन्दै पासपोर्ट खोसेर विदेश पलायन रोक्न सम्भव हुँदैन,’ उनले भने, ‘बरु नेपालमै भरपुर अवसरहरु सिर्जना गरेर युवा पलायन रोक्न सकिएला ।’

कार्यक्रममा उनले युवाहरुले विदेशमा अवसरै अवसर छ भनेर जानुपर्ने अवस्था नरहेको बताएका छन् । विदेशका धनी र विकसित देशहरुमा अब अवसरहरुको खडेरी लाग्ने र नेपालमा अवसरै अवसर हुने उनको भनाई छ । नेपालमै बसेर अवसरको पछि लाग्नुपर्ने कुरालाई जोड दिँदै उनले नेपालमा केहि गर्ने युवालाई सरकारले भरपुर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरुले आफ्नो क्षमतालाई आत्मसात गर्दै सानै तहबाट व्यवसाय सुरु गर्न सक्ने बताए । ‘सरकारले पनि युवाहरुका लागि ल्याएका धेरैजसो स्किमहरु युवाहरुलाई बुझाउन सकेका छैनन्,’ उनले भने, ‘बुझेका युवाहरुले राम्रोसँग सदुपयोग गर्न सकिरहेका छैनन् ।’

साथै सरकारले युवामुखी भन्दै धेरैभन्दा धेरै सहुलियतपुर्ण कार्यक्रम र सहजीकरणका स्किमहरु ल्याएपनि सो सम्बन्धमा बुझाउन नसकेको उनको भनाई थियो । साथै उक्त स्कीमको विषयमा जानकारी भएकाले यस्ता स्किमहरुको सदुपयोग गर्न जान्दैनन् र गर्दैनन् ।’कार्यक्रममा बोल्दै उनले पछिल्लो समय साना तथा मझौला उद्यमीहरुका लागि नेपाल भारतबीचको खुला सिमाना अवरोधको रुपमा सिर्जना भएकाले यसको खराव पक्षलाई निर्मुल पार्नुपर्ने बताएका छन् ।

यस्तै कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकहरुले युवाहरुका लागि सहुलियतपुर्ण कर्जाहरु ल्याएको र त्यसले कालान्तरमा बैंकहरुलाई नै अप्ठ्यारो अवस्थामा परिदिएको बताए । बिना धितोका कर्जा हरकोही युवाहरुले लिने र केहि युवाहरुले त्यसको सही सदुपयोग नगर्ने, अपचलन गरिदिने हुँदा त्यस्तो कर्जा खराव कर्जामा पनि परिणत हुने गरेको उनको भनाई छ ।

‘हामीले युवाहरुकै लागि भन्दै विभिन्न शिर्षकका विनाधितोका कर्जाहरु प्रवाह गरिरहेका थियौं,’ उनले भने, ‘तर धेरैजसो कर्जाहरु अपचलन भए र बैंकहरुलाई नै अप्ठ्यारो भयो ।’ यस्तो कर्जाहरु अब पारदर्शी हुनुपर्ने र कर्जा लिएकाले दायित्व बोध गरिदिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरुलाई उद्यमसँग नजोडी आर्थिक समृद्धि सोच्न पनि नसकिने बताएका छन् । कार्यक्रममा बोल्दै उनले युवाको विदेश पलायन रोक्न युवालाई उद्यमसँग जोड्न सरकारदेखि निजी क्षेत्र लागिपर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL