Logo

जेठमै दर्ता भए ५ ठुला परियोजना, स्न्याक्स उद्योगदेखि जलविद्युतसम्ममा ९ अर्बको लगानी प्रतिवद्धता

जेठमै दर्ता भए ५ ठुला परियोजना, स्न्याक्स उद्योगदेखि जलविद्युतसम्ममा ९ अर्बको लगानी प्रतिवद्धता



काठमाडौं । पछिल्लो समय नेपाललगायत विश्वभर आर्थिक मन्दी निम्तिएको छ । यस्तैबेलामा व्यापारमा मन्दी आउने, सर्वसाधारणसँग पैसा नहुनेलगायतका समस्या नेपालमा पनि देखिईसकेको स्वयं राष्ट्र बैंक पनि बताउँदै आएको छ । तर उद्योग क्षेत्रमा लगानी आउन भने नरोकिएको केहि तथ्यांकले देखाउँछन् ।

laxmi

गएको जेठ महिनामा मात्रै कुल ११ अर्ब रुपैयाँ बराबरका ३५ परियोजनामा स्वदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये ५ ठुला परियोजनामार्फत मात्रै ९ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार जेठ महिनामा एउटा पर्यटनमुलक र उत्पादनमुलक र उर्जामुलक २–२ ओटा गरी ५ ठुला परियोजनामार्फत ९ अर्ब १५ करोड ३९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यीमध्ये सबैभन्दा बढी लगानी प्रतिवद्धता उर्जामुलक क्षेत्रका दुई परियोजनामार्फत भित्रिएको छ । जसमा गत जेठ ५ गते र ३१ गते विभागमा दर्ता भएको दुई परियोजना मार्फत नै ६ अर्ब ८४ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो ।

यस्तै उत्पादनमुलक क्षेत्रका दुई उद्योगमार्फत यसै अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा पर्यटनमुलक क्षेत्रको एउटा परियोजनामार्फत ५९ करोड २६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यसरी लगानी प्रतिवद्धता आएको ५ परियोजनाले नेपालमा ६ सय १९ जनालाई रोजगारी दिने बताईएको छ ।

त्रिशुली क्यास्केड
जेठ महिनामा दर्ता भएका ठुला स्वदेशी परियोजनामध्ये सबैभन्दा बढी लगानीको परियोजना त्रिशुली क्यास्केड हो । उर्जामुलक क्षेत्रमा रहेको यो परियोजनामार्फत उद्योग विभागमा ४ अर्ब २२ करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । रसुवा जिल्लाको उग्रतारा र कालिका गाउँपालिकामा जलविद्युत गृह निर्माण हुने उक्त आयोजनाबाट २४.६ मेगावाट बिद्युत उत्पादन हुने बताईएको छ । शतप्रतिशत स्थानीय लगानीमा निर्मा हुने उक्त परियोजनाबाट ४५ जनाले रोजगारी पाउने बताईएको छ ।

फ्रेस वाटर इनर्जी
म्याग्दीको धवलागिरी गाउँपालिकामा विद्युतगृह निर्माण गरी १२.७३ मेगावाट बिजुली उत्पादन गर्नेगरी उद्योग विभागमा जेठमा दोस्रो ठुलो परियोजना दर्ता भएको छ । जेठ ३१ गते विभागमा दर्ता भएको उक्त परियोजनाले २ अर्ब ६२ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता जाहेर गरेको छ । कम्पनीले ३१ जनालाई रोजगारी दिने प्रतिवद्धता जाहेर गरेको छ ।

हिमालयन सलभेन्ट
जेठमा उद्योग विभागमा दर्ता भएको लगानीका हिसावले तेस्रो ठुलो परियोजना हिमालयन सलभेन्ट प्रालि हो । उत्पादनमुलक क्षेत्रको यो परियोजनामामा ९२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार यो परियोजनाले पर्सा जिल्लाको विरगंजमा कारखाना स्थापना गरेर खानेतेल प्रशोधन गर्ने बताएको छ ।

कम्पनीले बार्षिक १४ हजार ३ सय ८२ मेट्रिकटन भटमासको तेल, ४ सय ३२ मेट्रिकटन तोरीको तेल, राइस पोलीस आयल ७ सय मेट्रिकटन, भटमासको पिना ६७ हजार ६ सय ८० मेट्रिकटन, तोरीको पिना ४ हजार ८ सय ६० मेट्रिकटन र राइस पोलीस पिना ४ हजार १ सय २५ मेट्रिकटन उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

दुगड स्पाईसेज एण्ड फूड प्रोडक्ट
उद्योग विभागका गत जेठ २ गते नेपाली व्यवासायीक घराना दुगड ग्रुपले पनि आफ्नो परियोजनामा लगानी थप्नेगरी लगानी प्रतिवद्धता गरेको छ । विभागका अनुसार ग्रुपले अब जंक फुड उत्पादन गर्नका लागि भन्दै थप नयाँ परियोजनामार्फत ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेको छ ।

डुगड स्पाईस एण्ड फूड प्रोडक्ट प्रालिको नामबाट उद्योग विभागमा दर्ता भएको दुगड ग्रुपको नयाँ कम्पनीले स्पाईसेज, अचार, स्न्याक्स, टमाटो केचअप, ओट्स, कर्न फ्लेक्स, चोको फ्लेक्स, भुटेको चनालगायत उत्पादन गर्ने बताएको छ । जसमा बार्षिक १५ सय मेट्रिकटन स्पाईसेज, ३ हजार मेट्रिकटन स्न्याक्स, १ सय ४० मेट्रिकटन विभिन्न प्रकारका अचार, ५० मेट्रिकटन टमाटो केचअप उत्पादन गरिने बताईएको छ ।

यस्तै कम्पनीले ओट्स फ्लेक, कर्न फ्लेक र चोको फ्लेक ३०–३० मेट्रिकटन, ४ सय मेट्रिकटन भुटेको चना, २ हजार मेट्रिकटन चाउचाउ र ५० मेट्रिकटन कुकिज उत्पादन गर्ने बताएको छ । कम्पनीले हालसम्म मसलाजन्य वस्तुहरु उत्पादन गर्दै आएको छ ।

होटल लो मुस्ताङ
जेठ महिनाको सुरुमै विभागमा ठुलो उद्योगको रुपमा एउटा होटल दर्ता भयो । होटल लो मुस्ताङ प्रालिको नाममा दर्ता भएको उक्त होटलले ५९ करोड २६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेको छ । काठमाडौं जिल्लाको वडा नं २६ मा ९९ बेड र ८० जना बस्न मिल्ने रेस्टुरेन्टसहितको उक्त होटल निर्माण गर्ने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ । शतप्रतिशत स्थानीय लगानीमा निर्माण हुन लागेको उक्त होटलमा ८० जनाले रोजगारी पाउने बताईएको छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ ले ५० करोड माथि स्थिर पुँजी भएका कम्पनीलाई ठुला उद्योगको रुपमा वर्गिकरण गरेको छ । यस अनुसार जेठमा ५ ठुला परियोजनामा स्वदेशी लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL