Logo

ठमेलमा पर्यटक छन् व्यापार छैन, व्यापारी भन्छन्-अहिलेसम्मकै खराब व्यापार भयो

ठमेलमा पर्यटक छन् व्यापार छैन, व्यापारी भन्छन्-अहिलेसम्मकै खराब व्यापार भयो



काठमाडौं । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।

laxmi

नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । ‘कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ’, उनी भन्छन् ।

कोरोना महामारी अघि लागेजुले दैनिक ५० हजारदेखि ६० हजार रुपैयाँको व्यापार गर्थे। अहिले दैनिक ८ हजारदेखि १० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । २२ वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने, ‘अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।’

यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार÷व्यवसाय घटेको बताउँछन् । ‘ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन् । ‘कहिलेकाँही त बिक्री नै हुँदैन’, रेग्मी भन्छन् ।

खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको सुनाउँछन् । ठमेलमा विगत १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार÷व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछिन् । ‘पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्’, बाँस्तोला भन्छिन् ।

उनले उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री वितरण गर्दै आएकी छन् । ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौँ इको होटल सञ्चालन गर्दै आएका विमल (सहदेव) धमला पछिल्लो समय ठमेलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् ।

‘मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो’, उनी भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन् । ठमेलमा एक÷दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रीत रहेको उनले बताए। ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । अहिले पर्यटकीय समय भएको कारण पनि होटलमा पर्यटकको सङ्ख्या बढेको उनले बताए ।

नेपालमा पर्यटक आवागमनको सङ्ख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला बताउँछन् । ‘तारा एयरलाइन्स र यती एयरलाइन्सको माउण्टेन फ्लाइटमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ’, उनी भन्छन् ।

पछिल्लो समय तारा एयरलाइन्सले विभिन्न गन्तव्यस्थलमा दैनिक ५० वटासम्म उडान भर्ने गरेको छ । सो एयरलाइन्सले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लासम्म दैनिक आउने जाने ३२ उडानसम्म गरेको छ । यस्तै, सोही एयरलाइन्सले पोखराबाट मुस्ताङसम्म १० उडान र नेपालगञ्जबाट हिमाली क्षेत्रमा ६ उडान गर्ने गरेको छ ।

अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिने गरिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका छन् । मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार चार सय ५४, अन्य एशियाली मुलुकबाट १५ हजार छ सय ४३, युरोपबाट २३ हजार दुई सय ६५ तथा अन्य राष्ट्रबाट तीन हजार ९ सय ५८ पर्यटक नेपाल आएका छन् ।

यस्तै, क्यानडाबाट एक हजार सात सय सात, अमेरिकाबाट नौ हजार पाँच सय ५७ का साथै मध्यपूर्वलगायतका देशबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएको पर्यटन बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछाने बताउँछन् । उनका अनुसार मार्च महिनामा मात्र भारतबाट २५ हजार नौ सय ११ पर्यटक नेपाल आएका छन् । गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ पर्यटक आएका थिए ।

अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार आठ सय ९६ पर्यटक आएकामा यसपटक नौ हजार पाँच सय ५७ पर्यटक आएका छन् । मार्चमा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL