Logo

निर्यात वृद्धि गर्न उद्योग सचिवलाई चेम्बरको सुझाव, सबैखाले उद्योगमा सहुलियत आवश्यक

निर्यात वृद्धि गर्न उद्योग सचिवलाई चेम्बरको सुझाव, सबैखाले उद्योगमा सहुलियत आवश्यक



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धनको सम्भावनाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आज छलफल गरेको छ । सोमवार चेम्बरले औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्दन गर्न सकिने बिभिन्न विकल्पमा उद्योग सचिव डा तोय नारायण ज्ञवालीसँग छलफल गरेको हो । चेम्बरले उत्पादन वृद्धि मार्फत निर्यात प्रवर्द्धनका लागि मन्त्रालयको ध्यानाकर्षण गराउदै सचिव ज्ञवालीलाई १६ वुँदे सुझाव बुझाएको छ ।

छलफलमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेका छन । उद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रवर्द्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए । उनले विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरुमा प्रवर्द्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिने भएकाले यसका लागि सरकारसँग हातेमालो गर्न चेम्बर सदैब तयार रहेको बताए ।

यसका साथै औद्योगिक व्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल व्याजदरको व्यवस्था कायम गर्न अध्यक्ष मल्लले आग्रह गरे । दश करोड रुपैयाँ बराबरको विद्युत खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्धन गर्न सकिने बताए ।

मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुदा नेपाली वस्तुहरुको निर्यातमा पटक पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाई छ । यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे । चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रवर्द्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए ।

विदेशबाट फकिएका युवाहरुको सिप र लगानी प्रवद्र्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए । यसका लागि वैदेशिक रोजगार सम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाई छ । बार्षिक ९ खर्ब रुपैयाँ बराबरको निर्यात क्षमता भएपनि यसबाट लाभ लिन नसकिएको उनले बताए ।

चेम्बरका पदाधिकारीसंग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) को सहजीकरणमा आफूले पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL