Logo

डेढ अर्ब लगानीमा कागज उद्योग संचालनमा आउँदै, चन्द्र ढकाल सहित ४ व्यवसायीको लगानी

डेढ अर्ब लगानीमा कागज उद्योग संचालनमा आउँदै, चन्द्र ढकाल सहित ४ व्यवसायीको लगानी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका व्यवसायीक समुहले डेढ करोडको लगानीमा कागज उद्योग संचालनमा ल्याउने भएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा उक्त उद्योग संचालनमा ल्याउन लागेका हुन् । नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको नाममा डेढ अर्ब लगानीमा संचालनमा आउन लागेको सो उद्योगको सोमबार ढकाल लगायतका उद्योगीहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

उक्त उद्योगमा वरिष्ठ उपाध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको लगानी रहेको छ ।

आइएमइ समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ ।

सो समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए । नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने उनको भनाई छ । ।

आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL