Logo

हालसम्म चार बैंकको लाभांश घोषणा, अझै ११ बैंक लाभांश दिन सक्ने अवस्थामा ?

हालसम्म चार बैंकको लाभांश घोषणा, अझै ११ बैंक लाभांश दिन सक्ने अवस्थामा ?



काठमाडौं । नेपााल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४ वाणिज्य बैंकले मात्र हालसम्म लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र सिटिजन्स बैंक रहेका छन् । यीमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश पारित गर्न यस बैंकले कात्तिक १२ गते वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस बैंकले असोज २४ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज २३ गतेसम्म कायम सेयरधनीले बैंकले घोषणा गरेको उक्त लाभांश पाउनेछन् । यता, माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश बितरण गरेको छ । जसमा ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको असोज १० गते वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गरिसकेको छ ।

त्यस्तै, सानिमा बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ७.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न यस बैंकले कात्तिक २ गते वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस बैंकले असोज २७ गते बुक क्लोज गर्दै छ । तसर्थ, असोज २६ गतेसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउन सक्नेछन् ।

साथै, सिटिजन्स बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश घोषणा गरेपनि यस बैंकको साधारण सभा र बुक क्लोजको मिति भने तय भएको छैन । नेप्सेमा अहिले १९ वाणिज्य बैंक सूचीकृत छन् । तीमध्ये हालसम्म ४ बैंकले मात्रै लाभांश घोषणा गरेका हुन् ।

नियामकिय पा्रवधानअनुसार चालु आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र अर्थात पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यद्यपि, विगतलाई हेर्दा बैंक तथा वित्तीय संस्थाले अन्तिम समयमा मात्रै लाभांश घोषणा र एजीएम बोलाउँदै आएका छन् । तथापि, केही बैंकहरुले भने लाभांश घोषणा र साधारणको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाइसकेका छन् । वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरेसँगै उनीहरुले लाभांश घोषणा गर्नेछन् ।

लाभांश घोषणा गर्न बाँकी ११ बैंक लाभांश दिन सक्ने अवस्थामा

लाभांश घोषणा गर्न बाँकी १५ बैंकमध्ये ११ बैंक लाभांश दिन सक्ने अवस्थामा रहेका छन् । सबैभन्दा धेरै लाभांश दिने क्षमता भएको एभरेष्ट बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेको छ । यस बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत थियो । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । दोस्रो धेरै लाभांश दिने क्षमता सानिमा बैंकको रहेको छ ।

यसको प्रतिसेयर लाभांश दिने क्षमता २०.४७ प्रतिशत थियो । यसले पनि लगानीकर्तालाई लाभांश घोषणा गरिसकेको छ । यता, ४ बैंक भने लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । लाभांश दिन नसक्ने अवस्थामा कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार यी बैंकहरु लाभांश दिन नसक्ने अवस्थामा रहेको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्