काठमाडौं । विश्व बैंकले चालु वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र शिथिल भएर आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै हुने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.५ देखि २.६ प्रतिशतमा संकुचनको सम्भावना रहेको विश्व बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि भएको नेपाली अर्थतन्त्रमा यस वर्ष ४.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण यसअघि गरेको थियो । तथापि, जेनजी प्रदर्शन, बाढी र पहिरोलगायत विभिन्न कारणले वृद्धिदर घटेर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।
विदेशी पर्यटकीय आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, यसले लगानीकर्ताको मनोबल कमजोर बनाएको जनाएको छ । जसको कारण निजी क्षेत्रको लगानी र गैरजलविद्युतीय निर्माणमा असर गर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी समयमै वर्षात् नभएको हुँदा धान उत्पादन हुने प्रदेशमा असर गरेकाले कृषि क्षेत्रमा पनि यसको असर पर्ने विश्व बैंकले उल्लेख गरेको छ । यता, पुनर्निर्माणलाई अगाडि बढाउने सरकारी प्रतिबद्धता र सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछिको वर्षमा आर्थिक सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्ष भने ४.७ प्रतिशत वृद्धिदर हासिल हुने विश्व बैंकको अनुमान छ ।