Logo

माछापुच्छ्रे बैंकको नाफामा छलाङ, कमायो २ अर्ब बढी नाफा

माछापुच्छ्रे बैंकको नाफामा छलाङ, कमायो २ अर्ब बढी नाफा



काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको कर्जा लगानी ११.७४ प्रतिशतले बढेसँगै नाफा पनि ९२.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षमा बैंकले २ अर्बभन्दा बढी नाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्