Logo

२ वाणिज्य बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कारण के ?

२ वाणिज्य बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कारण के ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । कारबाही पर्नेमा सटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्स रहेका छन् । यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै कारबाही गरेको हो ।

केन्द्रीय बैंकले सिटिजन्स बैंकलाई ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेकोलगायतका कारण कारबाही गरेको जनाएको छ ।

यता, एनआईसी एसिया बैंकलाई ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागु हुने ब्याजदर (स्थिर–परिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायत व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको भन्दै सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्सका सञ्चालक तथा प्रमुख कार्यकारीलाई सचेत गराएको छ । केन्द्रीय बैंकले नोक्सानी व्यवस्था तथा वर्गीकरणको रिपोर्टिङमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता ब्याज–किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको पाएपछि सीईओलाई सचेत गराएको जनाएको छ ।

साथै, पोखरा फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै आर्थिक जरिबाना गरेको छ । पोखरा फाइनान्सले २७ माघदेखि २३ चैत २०८१ सम्म अवधिका लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेपछि ३२ लाख ७७ हजार ६ सय ७६ रुपैयाँ जरिबाना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्