काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । असार २२ गते बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुको सहभागितामा सपथग्रहण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सबै कर्मचारीहरुले बैंकप्रतिको आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकले हासिल गरेका उपलब्धिहरूको चर्चा गर्दै आगामी दिनमा दिगो प्रगति कायम राख्न सबै कर्मचारीले आफ्नो व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिए । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको सफलतामा योगदान पुर्याउने सम्पूर्ण कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सोही योगदानलाई निरन्तरता दिन अनुरोध गरे ।
बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डाले सम्पूर्ण सरोकारवाला र सहभागीहरूप्रति आभार प्रकट गरे ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सोही दिन काठमाडौंस्थित कमलादीको कर्पोरेट कार्यालयसहित देशभरका सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । साथै, रुपन्देहीको भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले देशभर १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । हालै मोरङको बेलबारीमा नयाँ शाखा पनि सञ्चालनमा आएको छ ।