काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व र लैंगिक समानताप्रतिको प्रतिवद्धता दर्शाएको छ। बैंकले देशभरका शाखा कार्यालयहरूमार्फत विविध कार्यक्रम गर्दै महिलालाई सम्मान गरेको जनाएको छ।
३१ औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले “वित्तीय पहुँच, आर्थिक समावेशिता र सामाजिक प्रगति” भन्ने नारासहित साता दिन लामो उत्सव कार्यक्रम सञ्चालन गरेको हो । महिला उद्यमशिलता प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य बैंकको रहेको बताइएको छ।
वार्षिकोत्सव अन्तर्गत जेठ ६ गते बैंकले देशभरका १० शाखा कार्यालय र केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो। यस अभियानबाट ३२० पिन्ट रगत संकलन गरिएको थियो, जुन रगत व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित गरिएको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा बैंकले व्याख्या गरेको छ।
जेठ ७ गते, बैंकका केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरू आफ्ना क्षेत्रीय भेषभूषामा कार्यालय उपस्थित भएका थिए। यो गतिविधिबाट जातीय र सांस्कृतिक विविधताको सम्मान र कर्मचारीबीचको आत्मीयता बलियो भएको बैंकले जनाएको छ।
यसै क्रममा, बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर पनि सञ्चालन गरिएको थियो। साथै, वित्तीय साक्षरताका लागि प्रभातफेरी निकालिएको थियो, जसमा बैंकिङ्ग सेवा र प्रविधिसम्बन्धी सन्देश दिने प्लेकार्डहरू प्रयोग गरिएको थियो।
बैंकले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ को चौथो संस्करण पनि यही श्रृंखलाअन्तर्गत जेठ २१ देखि २४ गतेसम्म आयोजना हुने तयारीमा रहेको छ। २४ टिमको सहभागिता रहने यस लिगलाई बैंकको वार्षिक उत्सवको प्रमुख आकर्षण मानिएको छ।