काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा शंकास्पद कारोबार ४९ प्रतिशतले बढेको पाईएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सन् २०२४ मा आफ्ना गतिविधिहरू समेटिएको वार्षिक न्यूजलेटर सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । यो न्यूजलेटरमा इकाईले वर्षभरि गरेका मुख्य गतिविधिहरू, जानकारीमूलक सामग्री र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विभिन्न लेखहरू समावेश गरिएको छ।
न्यूजलेटरले देखाएअनुसार सन् २०२२ मा ६ हजार २ सय ४४ रहेको शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् २०२४ मा ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३ सय ४ पुगेको छ। यो वृद्धिले वित्तीय क्षेत्रमा शंकास्पद गतिविधिहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको संकेत गर्छ। त्यस्तै, एक वर्षको अवधिमा १९ लाख ७२ हजारभन्दा बढी पटक सीमाभन्दा बढी कारोबार भएको तथ्यांकले वित्तीय अनियमितताको जोखिमलाई थप स्पष्ट पारेको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार विभिन्न निकायहरूले इकाईमा बुझाएका यस्ता प्रतिवेदनहरूले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणका घटनाहरूलाई निगरानी गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता कारोबारहरूको वृद्धिले नियामक निकायहरूलाई थप सतर्क बनाएको छ र सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषणजस्ता गतिविधिमा नियन्त्रण गर्न कडा नीति र निगरानीको आवश्यकता औंल्याएको छ।
एफआईयू–नेपालले यस्ता शंकास्पद गतिविधिहरूको अनुगमन र विश्लेषणलाई प्राथमिकता दिँदै सम्बन्धित निकायहरूसँग सहकार्य गरिरहेको छ। न्यूजलेटरमा उल्लेख भएअनुसार इकाईले वित्तीय पारदर्शिता र जवाफदेहिता कायम राख्न विभिन्न तालिम, कार्यशाला र जागरूकता कार्यक्रमहरू सञ्चालन गरेको छ। यी प्रयासहरूले वित्तीय प्रणालीको विश्वसनीयता र सुरक्षालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।