काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ।आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६ दशमलब ५० प्रतिशत पुगेको छ ।
पुलहरूले ओगटेको क्षेत्रबाहेक एक सय १० दशमलव ४६ किमी कालोपत्र गर्नुपर्ने छ । पुलले तीन दशमलव ०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए । हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३ दशमलव ९४ किमी कालोपत्र सडकमा यात्रा गर्न सक्ने उनले बताए । यो भनेको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।
उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।
राजमार्ग विस्तारको महत्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।