Logo

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट संकलन गर्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम खिच्न लागेको हो।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै आज (आइतबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन सकिने जनाएको छ।

निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलीको रकम १० करोडले भाग जाँदा बाँकी नहुने गरी प्रस्ताव गर्नु पर्नेछ।

ब्याजदर प्रतिस्पर्धात्मक हुने भएकाले संस्थाहरूले बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्ने सुविधा छ। राष्ट्र बैंकले अत्यधिक तरलता व्यवस्थापन गर्न यो कदम चालेको हो, किनभने पछिल्लो समय कर्जाको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको देखिएको छ।

यो २१ दिने निक्षेप संकलनको अवधि जेठ ११ गते सकिनेछ, र सोही दिन साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्