Logo

कोशी प्रदेशमा ५ खर्ब ३१ अर्ब कर्जा प्रवाह, प्राथमिकतामा व्यापार र उपभोग्य क्षेत्र

कोशी प्रदेशमा ५ खर्ब ३१ अर्ब कर्जा प्रवाह, प्राथमिकतामा व्यापार र उपभोग्य क्षेत्र



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कोशी प्रदेशमा मात्रै ५ खर्ब ३१ अर्ब बढीको कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा प्रदेशको विभिन्न क्षेत्रमा उक्त कर्जा प्रवाह गरिएको देखिएको हो ।

laxmi

प्रतिवेदन अनुसार यसरी प्रवाह गरिएको कर्जामध्ये सबैभन्दा बढी कर्जा भने थोक तथा खुद्रा विक्रेताहरुलाई प्रवाह गरिएको पाईएको छ । कोशी प्रदेशको यो क्षेत्रमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २४ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरिसकेका छन् । यस्तै वित्तीय संस्थाहरुले प्रदेशको उपभोग्य कर्जा शिर्षकमा १ खर्ब ११ अर्ब रुपैयाँ प्रवाह गरेको देखिन्छ । अर्थात उक्त प्रदेशमा प्रवाह भएको कुल कर्जाको आधा हिस्सा उपभोग र व्यापार क्षेत्रमा प्रवाह भएको देखिन्छ । खासगरी वित्तीय संस्थाहरुले उद्योग क्षेत्रमा उत्पादन बढाउने कुरालाई प्राथमिकता दिँदै कर्जा प्रवाह गर्नुपर्ने भएपनि त्यस्तो नदेखिएको हो ।

प्रतिवेदनलाई आधार मान्दा कोशी प्रदेशमा कृषि तथा वन क्षेत्रमा ५५ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी क्षेत्रमा ४५ अर्ब १४ करोड रुपैयाँ प्रवाह भएको देखिन्छ । यस्तै गैरखाद्य वस्तु उत्पादन क्षेत्रमा ६७ अर्ब २३ करोड अन्य क्षेत्रमा २९ अर्ब ८५ करोड, वित्त, बीमा तथा अचल सम्पत्तिमा १९ अर्ब ७० करोड र पर्यटन क्षेत्रमा ११ अर्ब २२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको देखिन्छ ।

सरकारले तोकेको क्षेत्रमा भने १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये प्रदेशको कृषि क्षेत्रमा ८८ अर्ब ३५ करोड, साना तथा मझौला उद्योगमा ६० अर्ब ८६ करोड, पर्यटन क्षेत्रमा ७ अर्ब ८० करोड रुपैयाँ र उर्जा क्षेत्रमा ५ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

यस्तै सहुलियतपूर्ण कर्जा पनि यो प्रदेशमा २२ हजार १ सय ७ व्यक्ति र फर्मले ३४ अर्ब २ करोड रुपैयाँ लिएको पाईएको छ । जसमध्ये सबैभन्दा ठुलो हिस्सा अर्थात २० अर्ब ११ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी क्षेत्रमा गएको देखिन्छ । हालसम्म यो क्षेत्रमा ८ हजार ९ सय २२ व्यक्ति तथा फर्मले कर्जा लिएको देखिन्छ । यस्तै सहुलियतपूर्ण कर्जा प्रवाह भएको दोस्रो सबैभन्दा ठुलो शिर्षक भने महिला उद्यमशिल कर्जा शिर्षक छ । यो शिर्षकमार्फत १२ हजार ८ सय ६३ व्यक्ति तथा संस्थाले १३ अर्ब ६७ करोड रुपैयाँ कर्जा लिएका छन् ।

प्रदेशमा हाल १ हजार ८ सय ६२ ओटा बैंक वित्तीय संस्थाका शाखाहरु छन् भने १ सय ३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको देखिन्छ । यसरी पर्यप्त शाखा कार्यालय र बैंकको उपस्थितिकै कारण उक्त प्रदेशमा एटिएम मेशिन संख्या पनि ६ सय ६६ पुगेको प्रतिवेदनमा उल्लेख छ । यो प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुमा ७२ लाख ७१ हजार बढी निक्षेप खाता संचालनमा छन् । जसमध्ये ५१ लाख २२ हजार खाता सक्रिय छन् ।

बैंक वित्तीय शाखाहरुमध्ये प्रदेश अन्तर्गतको मोरङमा मात्रै ४ सय ५५ शाखा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी झापामा ३ सय ५७, सुनसरीमा ३ सय ४१ र उदयपुरमा १ सय १६ शाखा कार्यालयहरु संचालनमा छन् । यो प्रदेशका अन्य १० जिल्लाहरुमा भने शाखा संख्या १ सय भन्दा तलै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL