Logo

अधिकांश बैंकको खराब कर्जा ४ प्रतिशत माथि, तीन महिनामा ०.१८ प्रतिशतले बढ्यो

अधिकांश बैंकको खराब कर्जा ४ प्रतिशत माथि, तीन महिनामा ०.१८ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) ४ प्रतिशतभन्दा माथि ५ प्रतिशतसम्म पुगेको छ ।

laxmi

चालु आर्थिक वर्षको पुस मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा २० वाणिज्य बैंकको खराब कर्जा ०.१८ प्रतिशत बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ । फागुन मसान्तमा वाणिज्य बैंकको एनपीएल औसत ३.५८ प्रतिशत रहेको छ । गत पुस मसान्तसम्म बैंकहरुको एनपीएल ३.४० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

बाणिज्य बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिईएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भन्ने गरिन्छ । वित्त संस्थाले निश्चित समयभित्र भुक्तान गर्ने गरी ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अर्थात् गर्न नसक्ने अवस्था पनि आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा यस्तो ऋणलाई खराब कर्जामा गणना गर्ने गरिन्छ ।

बैंकले सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाउँछन । नेपालमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी भएमा यस्तो अवस्थालाई जोखिमयुक्त अवस्था मान्ने गरिएको छ । तर, पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याको कारण बैंकहरुले ऋण असुली गर्न नसक्दा बैंकहरुको खराब कर्जाको अनुपात जोखिम युक्त अवस्थामा पुग्न लागेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा लक्ष्मी सनराईज बैंकको खराब कर्जा ५.४९ प्रतिशत पुगेको छ । यस बैंकको खराब कर्जाको अनुपात जोखिमयुक्त अवस्थामा पुगेको देखिन्छ ।

तीन महिनाको अवधीमा सबैभन्दा धेरै खराब कर्जा एनआईसी एशिया बैंकको बढेको छ । यस अवधिमा यस बैंकको खराब कर्जा १.८९ प्रतिशत बढेको हो । पुस मसान्तदेखि चैत मसान्तसम्म आउँदा १० वाणिज्य बैंकको खराब कर्जा बढेको छ । एक बैंकको खराब कर्जा गत त्रैमासकै यथावत रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तदेखि चैत मसान्तसम्म आउँदा ९ वाणिज्य बैंकले खराब कर्जाको अनुपात भने केहि घटाउन सफल भएका छन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत चैत महिनासम्मको लागि बैंक तथा वित्तीय संस्थालाई कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा लागू गरेको थियो । केन्द्रीय बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीका लागि यस्तो सुविधा ल्याएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गरेको थियो । यसकारण वाणिज्य बैंकले ऋण पुनर्तालिकीकरण गर्न पाए ।

सो कारण यी ९ वाणिज्य बैंकको खराब कर्जाको अनुपातमा केहि ब्रेक लागेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा पुनर्तालिकीकरणको सुबिधा यही चैत मसान्तबाट सकिएको छ । जसको कारण आगामी त्रैमासिक वित्तीय विवरणमा बैंक तथा वित्तीय संंस्थाको खराब कर्जा अझ बढ्न सक्ने सम्भावना रहेको छ ।

कुन बैंकको खराब कर्जा कति सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL