Logo

गरिमा विकास बैंक १७औं बर्षमा, सामाजिक काम गरेर मनाइयो

गरिमा विकास बैंक १७औं बर्षमा, सामाजिक काम गरेर मनाइयो



काठमाडौँ । ‘एसेस टू अल’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेड विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ ।

laxmi

बैंकले यस अवसरमा निरन्तर साथ दिने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

यस विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । जस अन्तर्गत विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, क्षेत्रीय कार्यालय नारायणगढ, क्षेत्रीय कार्यालय पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

त्यस्तै गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दी, श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा र गुरुकुल बृद्धाश्रम, स्याङ्जामा न्यानो कपडा वितरण गरिएको छ । त्यसैगरी आजै विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि, भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण गरिएको छ ।

त्यसैगरी श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरिएको छ भने अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

त्यस्तै विकास बैंकले प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण गरेको छ भने ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना गरेको छ ।

बैंकले वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ भने सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण समेत गरिएको छ ।

त्यस्तै काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण गरिएको छ भने नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण तथा अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL