Logo

मार्गदर्शनले नछोएको चालू पूँजी कर्जा, कसरी भयो कात्तिकमै ६ अर्ब प्रबाह ?

मार्गदर्शनले नछोएको चालू पूँजी कर्जा, कसरी भयो कात्तिकमै ६ अर्ब प्रबाह ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गदर्शन संशोधन भईसकेको छ । मार्गदर्शनको पहिलो मस्यौदा आएदेखि नै रुष्ट उद्योगी व्यवसायीहरु राष्ट्र बैंक विरुद्ध आन्दोलनमै उत्रिएका थिए ।

laxmi

मार्गदर्शनमा भएका बुँदाहरुले उद्योगी व्यवसायीहरुलाई ठूलो असर पुर्याएको भन्दै निजी क्षेत्र आन्दोलनमा उत्रिएपनि त्यसको असर कर्जा प्रवाहमा भने न्युन मात्रै देखिएको छ । अर्थात गत कार्तिक १ गतेदेखि उक्त मार्गदर्शन लागू भएपनि सोही महिनामा चालू पूँजी कर्जा ६ अर्ब रुपैयाँ बढी प्रबाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गएको असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १० खर्ब ४४ अर्ब बराबर प्रवाह भएको यस्तो कर्जा कार्तिक महिनाको मसान्तसम्म १० खर्ब ५० अर्ब बढी पुगेको हो ।

यस्तै गत कार्तिक महिनासम्म भएको चालू पूँजी कर्जा प्रवाह गएको आर्थिक बर्षको असार मसान्तको तुलनामा ३६ अर्ब १४ करोड रुपैयाँले बढी हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १० खर्ब १४ अर्ब रुपैयाँ बराबरको चालू पूँजी कर्जा प्रवाह गरेका थिए ।

हुन त नेपाल राष्ट्र बैंकले पहिलोपटक २०७८ पुसमा चालू पूँजी कर्जा मार्गदर्शनको मस्यौदा सार्वजनिक गरेको थियो । त्यसपश्चात निजी क्षेत्र र सरोकारावालाहरुसँगको छलफलपछि गत भदौ ७ गते यसको अन्तिम मस्यौदा सार्वजनिक गरी कार्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको थियो । त्यसबेलादेखि रुष्ट व्यवसायीहरुल चालु आर्थिक बर्षको ५ महिनामै ३६ अर्ब १४ करोड रुपैयाँ बराबरको चालू पूँजी कर्जा लिईसकेका छन् ।

कर्जा लिँदा लिँदै पनि उद्योगीहरु भने लगातार आन्दोलन, धर्नालगायतका कार्यक्रमहरु आयोजना गर्दै आएका थिए । यसरी निजी क्षेत्र नै आन्दोलनमा उत्रँदा खराव अवस्था आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को निर्देशनमा नेपाल राष्ट्र बैंकले बुधबार मार्गदर्शनका केहि बुँदाहरु संशोधन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL