Logo

एक महिनामै १७ अर्ब ९५ करोडले घट्यो विदेशी मुद्रा संचिति , ८ महिनाको वस्तु आयात गर्न पुग्ने

एक महिनामै १७ अर्ब ९५ करोडले घट्यो विदेशी मुद्रा संचिति , ८ महिनाको वस्तु आयात गर्न पुग्ने



काठमाडौं । साउन महिनामा वैदेशिक मुद्रा संचिति १.५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आवको साउनमा १.५ प्रतिशतले घटेर ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ पुगेको हो । यो भनेको १ महिनामै विदेशी मुद्रा संचिति १७ अर्ब ९५ करोड रुपैयाँले घटेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो महिनाको तथ्यांक सार्वजनिक गर्दै अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तको तुलनामा १.२ प्रतिशतले घटेको जानकारी दिएको छ । तग आवको असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०.७ प्रतिशतले घटेर १० खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको संचिति ६.७ प्रतिशतले घटेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

गत आवको असार मसान्तसम्म नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग यस्तो संचिति क्रमशः १० खर्ब ५६ अर्ब ३९ करोड र १५९ अर्ब ४१ करोड रुपैयाँ थियो । चालु आवको साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.७ प्रतिशत, ६६.८ प्रतिशत र २२.२ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL