Logo

नेपाल बैंक र त्रिबि व्यवस्थापन केन्द्रीय विभागबिच सम्झौता, अनुसन्धानको कार्यमा समन्वय गर्ने

नेपाल बैंक र त्रिबि व्यवस्थापन केन्द्रीय विभागबिच सम्झौता, अनुसन्धानको कार्यमा समन्वय गर्ने



काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन । यस्तै सो बिभागका बिद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

सम्झौता अनुसार बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद रु तीस हजार प्रदान गर्नेछ ।

बैंकले व्यवस्थापन विभागमा एमबीए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।

सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन बिभागका निमित्त बिभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय बिभाग सँगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धि कार्यमा ठूलो मद्दत पुग्ने बिश्वास व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन केन्द्रीय बिभागका नि विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना बिद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गरे । यस्तै उनले उक्त अवसर प्रदान गरेकोमा बैंकलाई धन्यबाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा त्रिबी व्यवस्थापन बिभागका एमविए प्रोगाम डाइरेक्टर सह–प्राध्यापक ज्ञानमणी अधिकारी, सह–प्राध्यापक डा.ध्रुबलाल पाण्डेय, डा.बलराम दुवाल र डा.भरतसिंह थापाको समेत उपस्थिती रहेको थियो ।

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत श्री बिश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कम्पनी सचिब केशब भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL