काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । बेमौसम, बर्षाका कारण बाटो अवरुद्धलगायतका कारण देखाउँदै तरकारी विक्रेताहरुले यसको मुल्य लगातार वृद्धि गर्दै आईरहेका छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महिनामा मात्रै केहि तरकारीको मूल्य चार गुणाले बढेको छ । काउली, घ्यु सिमी, लौका, परवल, हरियो फर्सीलगायतका तरकारीको मूल्य तेब्बर बढीले बढिसकेको समितिले जानकारी दिएको छ ।
गत महिना अर्थात असारको ३० गतेको तुलनामा हालसम्म अर्थात पछिल्लो १ महिनाकै अवधिमा तने बोडीको मूल्य ४ गुणाले बढेको देखिएको छ । समितिका अनुसार असार ३० गते १७ रुपैयाँ प्रतिकिलोमा किनबेच भईरहेको तने बोडीको मूल्य एक महिनामै बढेर प्रतिकिलो ९४ रुपैयाँ पुगेको देखिन्छ । यस्तै यसै अवधिमा काउलीको मूल्य पनि एक महिनाकै अवधिमा १ सय ७० प्रतिशतले बढेको पाईएको छ । समितिका अनुसार असार ३० गते प्रतिकिलो ३९ रुपैयाँमा कारोबार भईरहेको काउली एक महिनामै उच्च बढ्दै प्रतिकिलो १ सय ५ रुपैयाँ पुगेको छ ।
यस्तै यसै अवधिमा घिउ सिमीको मूल्यमा पनि १ सय ५३ प्रतिशतको वृद्धि हुँदा हाल कालिमाटी थोक बजारमा घिउ सिमी प्रतिकिलो ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
बजारमा उपभोक्ताको चुल्होसम्म पुग्ने लौका, परबर, चिचिण्डो, हरियो फर्सीलगायतको मूल्य एक महिना अघिको तुलनामा हाल तेब्बरले बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।
खासगरी बेमौसमी तरकारीहरुको मूल्य विशेषगरी बढेको उनको भनाई छ । मुला, गाँजर, काँक्रो, च्याउ, ब्रोकाउलीलगायतको मूल्यमा पनि उल्लेख्य वृद्धि हुनुमा भने बेमौसमसँग बाटोको समस्या पनि मूख्य कारण मानिने उनले बताए । ‘बर्षाका कारण गाउँगाउँबाट तरकारी संकलन हुने स्थानसम्म तरकारी पुर्याउन कठिन हुनेभएपछि बजारमा तरकारीको केहि अभाव हुने गर्छ,’ उनले भने, ‘तरकारीको अभाव भएसँगै अर्थतन्त्रको नियमअनुसार तरकारीको मूल्य एकाएक बढ्ने गरेको यसअघिको अभ्यासले देखाउँछ ।’
कालिमाटी तरकारी बजारमा हरेक बिहान बजारमा आएको तरकारीको परिमाण र त्यसको मागलाई आधार मानी मूल्य निर्धारण गरिएको हुन्छ । सोही अनुसार बजारमा भित्रिने तरकारीको परिमाणलाई आधार मान्दै हाल पनि तरकारीको मूल्य समायोजन गर्ने गरिएको श्रेष्ठ बताउँछन् ।
यद्यपी पछिल्लो एक महिनामा भने सलगम, पालुंगोको साग सजिवन, हरियो खुर्सानी, गुन्द्रुकलगायतका तरकारीहरुको मूल्य भने घटेको पाईएको छ । यस्तै सुकेको लसुन, प्याजलगायतका मसालेदार तरकारीको भाउ यसपल्ट सामान्यतया स्थिरजस्तै रहेको श्रेष्ठले बताए ।