Logo

खानेतेलमा मूल्यवृद्धिको असर दानामा : दानाको मूल्य बढाउने तयारी, कुखुराको मासुको मूल्य अझै बढने

खानेतेलमा मूल्यवृद्धिको असर दानामा : दानाको मूल्य बढाउने तयारी, कुखुराको मासुको मूल्य अझै बढने



काठमाडौं । पछिल्लो समय विश्वव्यापी बजारमा सृजित उतारचढावका कारण नेपालमा आयात हुने धेरैजसो कच्चापदार्थको मूल्य आकाशिएको छ । प्रायः सबै वस्तु आयात गरेर चलिरहेको नेपालमा अन्तराष्ट्रिय बजारमा आउने उतारचढावले प्रभाव परिहाल्ने अवस्था छ । जसको पछिल्लो उदाहरण नेपालमा हरेक वस्तुमा देखिएको मूल्यवृद्धि पनि हो ।

यसै सन्दर्भमा कच्चपदार्थको मूल्य बढेसँगै नेपालमा कुखुरा तथा गाईवस्तुलाई खुवाउने दानाको मूल्य बढ्ने सम्भावना बढेको छ । पछिल्लो समय बढेको कच्चा पदार्थको मूल्य, ढुवानी मूल्य, ईन्धनको मूल्यलगायतका कारण दानाको मूल्य बढ्ने अवस्था आएको व्यवसायीहरु बताउँछन् ।

नेपालले गाईवस्तु तथा कुखुरालगायत पशुपंक्षीलाई खुवाउने दाना उत्पादन गर्न विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्ने गरेको छ । नेपालले मकै भारतबाट आयात गर्दछ भने भटमासको पिना, औषधिलगायतका कच्चा पदार्थ अमेरिकालगायतका देशहरुबाट आयात गर्ने गरेको छ । यसरी आयातित कच्चा पदार्थ प्रयोग गरी दानाको उत्पादन गर्नुपर्ने भएकाले पछिल्लो समय दानाको मूल्य बढ्ने सम्भावना देखिएको हो ।

भारतबाट आउने मकै, अमेरिकाबाट आउने भटमासको पिना र अन्य देशबाट आउने विभिन्न औषधिको मूल्य लगातार बढिरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय अन्तराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य बढेसँगै यसको असर दानाको मूलयमा पनि पर्ने भएको हो । करिव ३ महिना अघि संघअन्तर्गतका दाना उद्योगहरुले दानाको मूल्य प्रतिकिलो ६ रुपैयाँले मूल्य बढाएका थिए ।

उद्योगीहरुले अव उक्त मूल्यले लगानी नउठ्ने भन्दै संघमा नयाँ मूल्य तय गर्न दबाब बढाएका छन् । हाल अमेरिकाबाट आयात हुने पिनाको मूल्य साविकको तुलनामा ८० देखि ८२ प्रतिशतले बढेको छ भने मकैको मूल्य प्रतिकिलो १० रुपैयाँसम्मले बढेको छ । यस्तो हुँदा दाना उत्पादनको लागत बढेको छ । तर, उद्योगीले करिव ३ महिना अघिकै मूल्यमा बेच्न नसक्ने धारणा संघमा राख्ने गरेकाले मूल्य बढ्नसक्ने आँकलन गरिएको पुरीले बताए । ‘सबै कच्चापदार्थको मूल्य बढेको छ, ढुवानी खर्चसमेत उल्लेख्य बढेको छ, यसले उद्योगीको लागत बढाईदिएको छ,’ उनले भने, ‘तर, लागत बढ्दैमा तत्काल भने दानाको मूल्य नबढ्ला, त्यसको तयारी हामीले गरिसकेका छैनौं ।’ उनले उत्पादन लागत बढेपनि एक्कासी पुनः दानाको मूल्य बढाउँदा पोल्ट्री व्यवसाय नै धरापमा पर्ने भएकाले तत्काल दानाको मूल्य नबढाउन प्रयास गरिरहेको बताए ।

किन बढ्योे कच्चा पदार्थको मूल्य ?

हाल रुस र युक्रेनको बढ्दो द्वन्दको असर नेपालको खानेतेल क्षेत्रमा परेको छ । अर्थात अन्तराष्ट्रिय बजारमा दूई देशको युद्धले तेल बजारमा हलचल मच्चाउँदा विश्वभरी खानेतेलको कच्चा पदार्थको मूल्य बढेको छ । नेपालले पनि पछिल्लो महिना भटमासको मूल्य मात्रै प्रतिटन २ सय ५० डलर बढि तिरेर भटमास भित्र्याईरहेको तेल उत्पादक प्रदिप मुरारका बताउँछन् । यसरी भटमासको मूल्य बढिरहँदा यसको तत्व पिनाको मूल्य पनि बढेको छ । दानामा प्रयोग हुने पिनाको मूल्य बढेपछि दाना उत्पादकहरुको लागत बढेको उद्योगीहरु बताउँछन् । यस्तै भारतले पछिल्लो समय मकैको मूल्य बढाउँदा पनि यसको असर दानामा परेको देखिन्छ ।

मासुको मूल्य बढ्दै

दानाको मूल्य बढिरहँदा कुखुरा र मासुको मूल्य पनि बढेको देखिन्छ । नेपाल कुखुरा व्यवसायी संघले शनिबारदेखि लागु हुनेगरी ज्युँदो कुखुरा प्रतिकिलो १० रुपैयाँले र तयार पारिएको कुखुरा प्रतिकिलो १५ रुपैयाँले मूल्य बढाएको छ । जाडो याममा कुखुरा उत्पादन कम भएकाले अभावसँगै मूल्य बढेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । उनका अनुसार कृषकले जाडो महिनामा कम मात्रै कुखुरा उत्पादन गर्ने भएकाले यस्तो अवस्था आएको हो । यता दाना उत्पादन संघका अध्यक्ष रविन पुरी भने करिव ३ महिना अघि बढेको दानाको मूल्यका कारण पनि हाल कुखुराको उत्पादन घटेपछि मासु र ज्युँदो कुखुराको मूल्य बढेको बताउँछन् ।

उनका अनुसार ३ महिना अघि दानाको मूल्य बढ्दा धेरैजसो कृषकले मूल्य नपाउने आँकलन गरी कम मात्रै कुखुरा हाले । हालेकाले पनि कम कुखुरा हाले र जाडोले बचाउनसमेत मुस्किल पर्याे । त्यसैको असर हाल देखिएको उनको भनाई छ । हाल कुखुरा व्यवसायी संघले ज्युँदो कुखुराको मूल्य २६० रुपैयाँ र तयार पारिएको मासुको प्रतिकिलो ३६० रुपैयाँ तोकेको छ । यसअघि ज्युँदो कुखुराको मूल्य २ सय ५० रुपैयाँ थियो भने तयार पारिएको कुखुरा कोल्ड स्टोरहरुले ३ सय ४५ रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL