Logo

भरतपुर विमानस्थल ४५० मिटर थप गर्ने तयारीमा प्राधिकरण, विस्तार पछि रात्रीकालिन उडान

भरतपुर विमानस्थल ४५० मिटर थप गर्ने तयारीमा प्राधिकरण, विस्तार पछि रात्रीकालिन उडान



काठमाडौं । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको हो । हालको १ हजार २०० मिटर लामो धावनमार्गमा ४५० मिटर थप गर्न सकिने भरतपुर नागरिक उड्डयन प्राधिकरणका प्रमुख पवनकुमार गौतमले जानकारी दिएका छन ।

अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्र्रस्तुत गरेको आगामी वर्षको बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ । विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको छ ।

विमानस्थल जोखिमपूर्ण भएपछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सरोकारवालाको छलफलसमेत गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले विमानस्थल बिस्तार हुन लागेको जानकारी दिएका हुन ।

महानगरपालिकाले सेनाको गण र सो केन्द्रका लागि वैकल्पिक स्थान दिइसकेको छ । महानगर प्रमुख रेनु दाहालले विमानस्थल बिस्तारको काम अघि बढेको बताएकी छिन । महानगरले सेनालाई ४ वटा ठाउँ विकल्पका रुपमा दिएको छ । ठाउँको विस्तृत विवरणसमेत मन्त्रालयमा पठाइसकिएको छ । मन्त्री भट्टराईले महानगरमा छलफलपछि विमानस्थल बिस्तार सम्बन्धमा अध्ययन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको प्रतिवेदनमा छलफलसमेत भइसकेको छ ।

महानगर प्रमुख दाहालले भने, ‘सरोकारवाला सबै सकारात्मक भएपछि विमानस्थल बिस्तारको काम अघि बढेको छ ।’ विमानस्थल प्रदेशस्तरको बन्ने हुँदा छिमेकी जिल्लावासी पनि लाभान्वित हुने उनले दाबी गरिन । विमानस्थलबाट १५० किलोमिटर हाराहारीमा काठमाडौँ, पोखरा, भैरहवा र निजगढ विमानस्थल पर्दछ ।

विमानस्थल बिस्तारभएपछि श्री एयरलायन्सको ८० सिटे जहाज, बुद्ध र यतीको एटिआर ७२, श्रीकै सि आर जे ५० र ७० सिटे जहाज अवतरण तथा नेपाल एयरलायन्सको ६० सिटे जहाज एमए ६० पनि उडान गर्न सक्नेछ । ६२ बिघामा रहेको विमानस्थल बिस्तार गर्दा ७२ बिघा थप हुनेछ ।
विस्तारसँगै रात्रिकालीन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यही हुनेछ ।

भौतिक संरचना निर्माण गरेर आकर्षक विमानस्थल बन्ने उनको भनाइ छ । टर्मिनल भवन छुट्टै बन्ने छ । पर्यटनमन्त्री भट्टराईले यहीँबाट माउन्टेनसहितका विभिन्न जिल्लामा उडान गर्न सक्नेगरी विमानस्थल बिस्तार गर्ने बताउँदै आएका छन । हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । धावनमार्ग विस्तार गर्दै गर्दा अतिक्रमण गरी मापदण्ड मिचेर बनाइएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ ।

हाल प्रदेशस्तरका नेपालगञ्ज, विराटनगर, पोखरा र भैरहवा विमानस्थल छन् । त्यही स्तरको विमानस्थल भरतपुरमा बिस्तार गर्न लागिएको हो । यस विमानस्थलले वाग्मती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला, नवलपरासी, तनहुँलगायतका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । साना जहाज मात्र उड्ने भएकाले भाडा बढी तिर्न यात्रु बाध्य छन् । विमानस्थल बिस्तार भएसँगै जहाजको भाडादर कम हुने अपेक्षा गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL