Logo

मन्त्री भट्टराईको ठाडो निर्देशन : बिमान चार्टरको ‘एजेन्ट’लाई कमिशन नदिनु

मन्त्री भट्टराईको ठाडो निर्देशन : बिमान चार्टरको ‘एजेन्ट’लाई कमिशन नदिनु



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन । अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएको हो ।

पर्यटनमन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टंकनिधि दाहाललाई एजेन्टलाई कमिसनबापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएका विषय स्पष्ट पार्न आग्रह गरेका छन । यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँ भन्दाबढी नोक्सानी गरेको समाचार प्रकाशन भएलगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर यो विषय स्पष्ट पार्न निर्देशन दिएको हो ।

उक्त सम्बन्धमा निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो । तर मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भनेका छन । नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारवाहीको दायरामा ल्याउनेसमेत मन्त्री भट्टराईले चेतावनी दिएका छन ।

अष्ट्रेलियन दूतावासले दिएको काठमाडौँ–अष्ट्रेलिया–काठमाडौँ उडानबापतको ४ लाख ३९ हजार २०० डलर र प्रत्येक यात्रुको ट्याक्ससमेत गरी ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ । बोन ट्राभल्सले ‘एजेन्ट’ भएर काम गरेबापत ५ प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७७० रुपैयाँ पाइसकेको समाचार प्रकाशित भएको छ । तर निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमनबापतको रकम दिइ नसकिएको बताएका छन । उनले भने, ‘ त्यो रकम निगमकै खातामा छ, बोन ट्राभललाई दिइएको छैन ।’

यही चैत १९ गते बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १०० डलरका दरले शुल्क लिएको छ । निगमले २५ घण्टा (काठमाडौँ–अष्ट्रेलिया–काठमाडौँ) उडानको चार्टरबापतको रकम ५ करोड ४९ लाख १५ हजार ४०० रुपैयाँ तिरेको हो । यही उडानमा नेपाल वायुसेवा निगमले एजेन्ट घुसाएर अनियमितता गरेको समाचार बाहिर आएपछि मन्त्री भट्टराईले ‘एक्सन’ लिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL