काठमाडौं । अन्तरराष्ट्रिय उडानका लागि निर्माणको क्रममा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अहिले करिब ७५ प्रतिशत भौतिक प्रगती सम्पन्न भैसकेको छ । बाकी २० प्रतिशत काम पूरा भएपछी उडान सुरु गर्ने योजना रहेपनि अर्घाखाँची सिमेन्टको प्रि हिटर (चिम्नी) लगायत अन्य संरचनाका कारण अहिले प्राधिकरणका लागि समस्याका रुपमा रहेको छ ।
अन्तरराष्ट्रिय उडान सुरु भएपपछि प्रि हिटर भएकै ठाउबाट ल्यान्डिङ गर्नुपर्ने र प्रिहिटरको उचाइ अत्यधिक बढी हुदा सुरक्षाको प्रश्न उठने प्राधिकरणले जानकारी दिएको छ । यद्यपि प्राधिकरणको निर्देशन अनुसार उद्योगले संरचना घटाउने काम भने गरेको छैन ।
यस अघि नागरिक उड्यन प्राधिकरणले अर्घाखाँची सिमेन्टलाई उडान सुरक्षा सवेदनशीलताको कारण देखाएर चैत १० गते महानिर्देशक स्तरीय निर्णय गर्दै उक्त उद्योगको प्रि हटिर ४० मिटर घटाई केही संरचना समेत हटाउन निर्देशन दिएको थियो । तर, उद्योगका लगानीकर्ताले शक्ति र पहुँचको आडमा उक्त संरचना हटाउन अटेर गर्दै आएको पाइएको छ । ‘हामीले उद्योगको प्रि हिटर सहित केही संरचना हटाउन उद्योगलाई पटक–पटक ताकेता गर्दै आएका छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘तर, उद्योगका संचालकले माथिल्लो निकायबाट दबाब दिँदै संरचना हटाउन अटेर गर्दै आएका छन् ।’
हाल उद्योगको संरचना हटाउने सम्बन्धमा अनौपचारिक रुपमा छलफल भएपनि औपचारिक रुपमा कुनै जानकारीमा नआएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘हामीले अनौपचारिक रुपमा उद्योगको व्यवस्थापनसँग भेट गर्ने तथा उद्योगको स्थलगत निरीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘तर, उद्योगले कहिलेसम्म चिम्नी लगायतका संरचना हटाउने हो सो सम्बन्धमा कुनै जानकारी आएको छैन ।’
उद्योगले संरचना हटाउन अटेर गरेसँगै पुनः ताकेका गर्न लागिएको उनले जानकारी दिए । ‘उद्योगको संरचना नहटाएसम्म गौतमबुद्ध विमानस्थलबाट सुरक्षित रुपमा उडान भर्न सकिँदैन,’ उनले भने, ‘विमानस्थल र हवाई उडानलाई असुरक्षित बनाएर उद्योगको संचरना राख्न दिँदैनौं ।’ उद्योगले आफ्नो संरचना नहटाएसम्म ताकेका गरिरहने समेत उनले जानकारी दिए ।
गौतमबुद्ध विमानस्थल जस्तोको हकमा रनवेको ४ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्लो संरचना भएको अवस्थामा कुनै पनि उडान गर्नु उच्च जोखिम मानिन्छ । तर अर्घाखाँची सिमेन्टको प्रि हिटरको उचाई ३ हजार २ सय मिटरको दुरीमा १ सय मिटर भन्दा अग्लो रहेको छ । उद्योगको संरचना नहटाएसम्म उच्च जोखिम लिएर अन्तरराष्ट्रिय उडानका कुनै पनि जहाज फोर्स ल्याण्डिङ समेत गर्न सकिने छैन ।
केही समय अधि विमानस्थलले रनवेबाट ४ किलोमिटर वरपर कुनै पनि भौतिक संरचना बनाउन नदिन र यस अघि भएका संरचना समेत हटाईदिनका लागि सम्बन्धित जिल्लाको नगरपालिका तथा गाउपालिककालाई समेत पत्र काटेको थियो । साथै सडक तथा भवन निर्माण डिभिजन कार्यालयलगाय सम्बन्ध निकायलाई समेत उक्त पत्र काटिएको थियो । तर, उद्योग संचालकले भने शक्तिको आडमा हालसम्म उक्त संरचना हटाउन अटेर गर्दै आएको सम्बद्ध निकायहरुले जानकारी दिएका छन् ।
यसैगरी नागरिक उड्डयन प्राधिकरण अन्तरगतको राष्ट्रिय गौरबका आयोजना हेर्ने प्रमुख प्रदिप अधिकारी भने उक्त संरचना हटाउनका लागि पुनः पत्राचार गरिने बताउँछन् । एउटा उद्योगलाई जोगाएर विमानस्थललाई उच्च जोखिममा राखेर संचालन गर्न नसकिने भन्दै विमानस्थल संचालनमा आउनुपूर्व जसरी पनि उद्योगका संरचना हटाईने उनले जानकारी दिए । ‘उद्योग ठूलो भएकाले संरचना सार्नका लागि उद्योग व्यवस्थापनले उपयुक्त स्थानको खोजी गर्दै हुनुहुन्छ होला,’ उनले भने, ‘तोकिएको समयसिमा भित्र उद्योग व्यवस्थापनले नहटाएर त्यसलाई जसरी पनि हटाईने छ ।’