काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन् । सो बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ ।
हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । करिब ७० मिटर माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।
हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ ।
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध
केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ ।
कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ । त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् ।