Logo

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : पेरुका राजदूत पाउलिनिच

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : पेरुका राजदूत पाउलिनिच



काठमाडौं । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् ।

पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रशंशा गरे ।

‘हामी जलविद्युत, दिगो पर्वतीय विकास तथा इको–पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौं,’ राजदूत पाउलिनिचले भने, ‘जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।’

नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयाश अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ ।

आफूहरु कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर रहेको यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘नेपाल र पेरु गणतन्त्रबीच बलियो सम्बन्ध रहँदै आएको छ र हामी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी समृद्धिलाई प्रोत्साहन गर्न चाहन्छौं,’ उनले भने, ‘दुई देशबीच लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा बलियो द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न म आफ्नो ऊर्जा केन्द्रित गर्नेछु ।’

कार्यक्रममा काठमाडौंस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कुटनीतिक र सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । पेरु गणतन्त्रका स्थानीय परिकार तथा भेषभुषाको प्रदर्शनी गरिएको कार्यक्रम मेरियट होटलमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्