काठमाडौं । एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले प्रवद्र्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजनामा लगानी जुटेको छ । उक्त आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको हो ।
काठमाडौंमा आयोजित एक विशेष सहमारोहमा उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टसँग संयुक्त लगानी सम्झौता भएको हो । सम्झौताअनुरुप यस आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको ७५ प्रतिशत र प्रवद्र्धकहरुको २५ प्रतिशत लगानी रहनेछ।
आयोजना निर्माणका लागि सिटिजन्स बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ, सहभागी बैंकहरु क्रमशः नबिल बैंकबाट १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सानिमा बैंकबाट १ अर्ब रुपैयाँ तथा प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टबाट २ अर्ब ४० करोड रुपैयाँ लागत अनुमानमा निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौता भएको छ । ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा एक्सपर्ट हाइड्रो इन्भेन्टमेन्टका अध्यक्ष अंगिस घिमिरेको उपस्थितिमा कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपाल र अगुवा बैंकका तर्फबाट सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद पोखरेल तथा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको रोहबरमा सिटिजन्स बैंकका रोशन मल्ल तथा सहभागी बैंकका चिफ फाइनान्स अफिरले हस्ताक्षर गरेका छन् ।
सानीभेरी जलविद्युत आयोजना निर्माण सुरु गरेको मितिले ३.५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको बाँफीकोट सबस्टेसनमा करिब २३ किलोमिटर लामो १३२ केभी डबल सर्किटको प्रशारण लाइन निर्माण गरिनेछ । यो आयोजनाबाट सुक्खायाममा ९८.७२७ गिगाहर्ज र बर्खायाममा १८२.३८६ गिगाहर्ज गरी २८१.११३ गिगाहर्ज विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय ग्रीडमा थपिनेछ ।
रुकुमपूर्व जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाको वडा नं. १४ र २ भएर बग्ने सानीभेरी नदीको पानी उपयोग गर्दै निर्माण गरिने सानीभेरी जलविद्युत आयोजना एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले विकास गर्ने र उक्त आयोजनामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडको मूख्य लगानी रहनेछ भने बाँकी स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा सर्वसाधरण नेपालीको लगानी रहनेछ ।
आयोजना प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट र सिद्धि हाइड्रोपावरमा जलविद्युत क्षेत्रमा काम गरेका ऊर्जाशील युवाहरुको उपस्थिति रहेको छ । कम्पनीमा अस्ट्रेलियन एक्सपर्ट एजुकेसन ग्रुपका प्रतिष्ठित व्यवसायी समेत सहभागी छन् । यही समूह सिद्धि हाइड्रोपावर आयोजना निर्माणमा संलग्न छन् । यो आयोजना निर्माणको काम करिब १८ महिनामै सकिदैेछ ।