काठमाडौं । आगामी सिजनका लागि बिराटनगर किंग्सले राजधानीस्थित प्रख्यात होटल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनः आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। गत वर्षको सफल सहकार्यपछि दुवै पक्षबीचको यो साझेदारी निरन्तरताको प्रतीक हो।
बिराटनगर किंग्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपालकै एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु टिमका लागि गर्वको कुरा भएको उल्लेख गरिएको छ। सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई एकसाथ अघि बढाउने साझा दृष्टिकोणलाई मजबुत बनाउने विश्वास गरिएको छ।
राजधानीको मुटुमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड अत्याधुनिक सुविधा, स्थानीय संस्कृति झल्काउने वातावरण र उत्कृष्ट सेवाका लागि परिचित छ। सहकार्यअन्तर्गत प्रतियोगिता अवधिभर बिराटनगर किंग्सका खेलाडी, अफिसियल तथा महत्वपूर्ण पाहुनाहरूले प्रिमियम हस्पिटालिटी अनुभव गर्न सक्नेछन्।
बिराटनगर किंग्स व्यवस्थापनले भनेका छन्, ‘हामी हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँसँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण अत्यन्त प्रशंसनीय थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।’
यस साझेदारीलाई केवल आराम र सेवासँग मात्र सीमित नराखी, टिमले मैदानबाहिरका अविस्मरणीय अनुभव संकलन गर्ने अवसरका रूपमा समेत हेरिएको छ। यसले खेलाडीहरूको समग्र मनोबल र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बिराटनगर किंग्स सधैं मैदानभित्र र बाहिर उत्कृष्टता प्राप्त गर्ने प्रयत्नमा रहन्छ र हायात सेन्ट्रिकसँगको यो पुनः सहकार्य टिमको उचाइमा पुग्ने यात्रामा अर्को महत्वपूर्ण पाइला भएको टिमले जनाएको छ।