Logo

नाकाबन्दी हटेसँगै बढ्यो होटलको अकुपेन्सी

नाकाबन्दी हटेसँगै बढ्यो होटलको अकुपेन्सी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दी खुलेसँगै होटलको अकुपेन्सीमा बृद्धि भएको छ । अहिले उपत्यकाका होटलहरुको अकुपेन्सी करिव २५ प्रतिशतले बढेको होटल एशोशियसन नेपाल (हान)का महासचिव विनायक शाहले बताए । ‘हाल होटलहरुको अकुपेन्सी बढेर झण्डै ४५ प्रतिशत पुगेको छ’ उनले भने ।भुकम्प तथा नाकाबन्दीमा होटलको अकुपेन्सी १५ प्रतिशतसम्म झरेको थियो ।

 

यता सांग्रिला होटलका ग्रुप जनरल म्यानेजर राजुविक्रम शाह भने आफ्नो होटल तथा रिसोर्टको अकुपेन्सी झण्डै ८० प्रतिशत रहेको बताउँछन् । ‘नाकाबन्दी सहज भएसँगै होटलको अकुपेन्सी बढेको छ,’ उनले भने । विशेषगरी विभिन्न कुटनिटिक नियोग र राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी निकायका पर्यटकको आगमन बढ्दा अकुपेन्सीमा बृद्धि भएको शाहले जानकारी दिए ।

भारतले गरेको नाकाबन्दी करिव २० दिन यता अघोषित रुपमा खुलेको थियो । तर आन्दोलनकारीले ठप्प बनाएको वीरगञ्ज नाका भने गत शुक्रवारबाट खुलेको  हो ।

तर, अघिल्ला बर्षको तुलनामा भने होटलको अकुपेन्सी घटेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । अहिले पर्यटक भित्रने मुख्य सिजन भएपनि नाकाबन्दीको प्रभावले गर्दा पर्यटक भित्रिएका छैनन् । सरकारले चिनीयाँ पर्यटकलाई भिसा निःशुल्क गरेपनि होटल व्यवसायीले फाइदा लिन नसकेको महासचिव शाहको गुनासो छ । ‘अहिले चीनको नयाँ बर्ष भएकोले अधिकांश चिनीयाँ नागरिक देश बाहिर घुम्न निस्किएका छन’् उनले भने, ‘यस्तो समयमा नेपाल आउन चाहने चिनीयाँ पर्यटक पनि फ्लाइट कम हुँदा आउन सकेका छैनन् ।’

नेपाल एरलाइन्सले नियमित रुपमा उडान गरेपनि अन्य एयरलाइन्स कम्पनीले चीनबाट नेपाल उडान कटौती गरेकोले भिसा निशुल्क गरेपनि चिनियाँ पर्यटक आगमनमा बृद्धि नभएको हो । सामान्य अवस्थामा हप्ताको ३५ वटा उडान हुने गरेकोमा हाल इन्धन अवभाका कारण हप्तामा ५ ओटा मात्र उडान हुँदै आएको छ । चीनका २ कम्पनी चाइना इस्टर्न र चाइना साउदर्नले नेपालमा उडान गर्दै आएको भएपनि भूकम्प र नाकाबन्दीपछि उडान बन्द गरेका छन् ।

नेपाल एयसलाइन्समा सिटसमेत नपाउने भएकोले चिनीयाँ पर्यटकमा बृद्धि नभएको शाह बताउँछन् । त्यस्तै एयरलाइन्स कम्पनीहरुले उडान कटैती गरेपछि महँगोमा आउन पनि गाह्रो भएको व्यवसायीहरु बताउँछन् । उडानका विषयमा सरकार तथा पर्यटन बोर्डले छिटै केही कदम चालेमा भारत र चीनका पर्यटक सजिलै तान्न सक्ने व्यवसायीहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL