Logo

अनअराइभल भिसा खुलेसँगै पर्यटन क्षेत्रमा रौनक, होटल र ट्राभल बुकिङ बढ्यो

अनअराइभल भिसा खुलेसँगै पर्यटन क्षेत्रमा रौनक, होटल र ट्राभल बुकिङ बढ्यो



काठमाडौं । सरकारले कोरोनाको खोप लगाएका विदेशी नागरिकहरुलाई नेपालमा अनअराइभल भिसा खुला गरेसँगै पर्यटन क्षेत्रमा नयाँ रौनक थपिएको छ । कोरोनाका कारण दुई वर्षयता संकटग्रस्त बनेको पर्यटन क्षेत्रमा केहीदिन अघिसम्म शून्यताको अवस्था रहेपनि नेपाली पर्यटन व्यवसायले अब नयाँ उचाई लिने व्यवसायीहरु बताउँछन् ।

अनअराइभल भिसा खुला भएको र होटलहरुले पनि विभिन्न प्याकेजहरु नै बनाएर अन्तरराष्ट्रिय स्तरमै जानकारी पठाएपछि पछिल्लो समय इन्क्वायरी बढेको होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार सरकारले हाल धेरै देशहरुका नागरिकका लागि अनअराइभल भिसा खुलाउँदा पर्यटकले के छ कस्तो छ भनेर बुझ्ने क्रम बढेको छ ।

पर्यटन व्यवसायीले बेलाबेलामा कोरोना महामारीको त्रास कम भएको भन्दै विदेशी पर्यटक नेपाल भित्र्याउन सहजीकरण गरिदिन सरकारकासँग आग्रह गर्दै आएका थिए । गत हप्ताको मन्त्रिपरिषद बैठकले खोप लगाएको १४ दिन पुगेका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको थियो ।

पछिल्लो २ बर्षदेखि कोरोनाका कारण जारी प्रतिबन्धले विदेशी नागरिक सहजै नेपाल आउन नसक्ने र नआउने अवस्था आएको भन्दै पर्यटन व्यवसायीले खुला गर्नुपर्ने माग गर्दै आएका थिए । करिव २ महिना अघि नै खोल्नुपर्ने अनअराइभल भिसा खोल्नमा सरकारले ढिलाई गरेको हानका प्रथम उपाध्यक्ष शाह बताउँछन् । उनका अनुसार कोरोनाको त्रास पहिल्यै कम भइसकेको भएपनि सोहीअनुसार विभिन्न मन्त्रालयमा सहज रुपमा समन्वय नहुँदा भिसा खुला गर्न ढिलाई भएको हो ।

सरकारले अनअराईभल भिसा खोलेपनि विभिन्न नाकामा भने हालसम्म पनि परिपत्र गरेको छैन । नाकामा परिपत्र नगरेपछि भारतीयलगायत पर्यटक आवागमनमा समस्या आएको उनले बताए । ‘विभिन्न नाकामा कागजी परिपत्र नगई नाका खोल्न नसकिने व्यवस्था छ,’ उनले भने, ‘उक्त परिपत्र अनलाइनमार्फत पठाएपनि धेरैजसो नाकामा कागजी परिपत्र नपठाएपछि पर्यटक आवागमनमा समस्या आएको छ ।’ यस्तै सरकारले अन्तरराष्ट्रिय स्तरमा अनअराईभल भिसा खोलेको, कोरोना त्रास कम भएकोलगायतका सूचना सबैतिर फैलाउनुपर्ने उनले बताए । उनका अनुसार यस्ता सूचना अन्तरराष्ट्रिय स्तरमा फैलिएपछि मात्रै विदेशी पर्यटक भरपुर मात्रामा भित्रिने अनुमान गरिएको छ । हाल होटलहरुमा इन्क्वायरी आउने क्रम बढेपनि भएपनि पर्यटक आउने–नआउने भने अब कस्तो अवस्था रहन्छ भन्नेमा भर पर्ने शाह बताउँछन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भने ट्राभलमा पनि साविकको भन्दा बुकिङ बढेको बताउँछन् । अनअराइभल भिसा खोल्नेवित्तिकै पर्यटक नआएपनि यसले सकारात्मक सन्देश भने दिएको उनले बताए । सरकारले हाल कोरोना खोप लगाएका विदेशी नागरिकहरुलाई मात्रै अनअराइभल भिसा दिने निर्णय स्वागतयोग्य भएको बताउँदै उनले खोप नलगाएका नागरिकलाई पनि निश्चित शर्तहरु तोकेर भिसाको व्यवस्था गरिनुपर्ने बताए । उनका अनुसार पर्यटनको सिजन भएकाले र सरकारले सहजीकरण गरिदिएकाले केही मात्रामा अझै विदेशी पर्यटक बढ्ने अनुमान छ । सरकारले अनअराइभल भिसा खुला गरेसँगै पर्यटन व्यवसायीहरुमा नयाँ आशा र उत्साह जागेको पनि सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL