Logo

दुर्गम क्षेत्रमा दूरसंचार सेवाको दारुण अवस्था : पहुँच नभए महिनौ सेवा अवरुद्ध, मर्मतका लागिसमेत सोर्सफोर्स लगाउनुपर्ने बाध्यता

दुर्गम क्षेत्रमा दूरसंचार सेवाको दारुण अवस्था : पहुँच नभए महिनौ सेवा अवरुद्ध, मर्मतका लागिसमेत सोर्सफोर्स लगाउनुपर्ने बाध्यता



काठमाडौं । सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा नेपाल टेलिकमका बिषयमा बैठक राखिएको थियो । बैठकमा टेलिकमको गुणस्तर, सेवा प्रवाह, सेवा विस्तारलगायतका कुराहरुका बारेमा सांसदलाई जानकारी दिने र सांसदका सुझावहरु लिने उद्देश्य राखिएको थियो । छलफलमा हुम्लाकी कांग्रेस सांसद रंगमति शाहीले दुर्गममा पहुँच भएपछि मात्रै जनताले टेलिकमको सेवा पाउने अवस्था रहेको बताईन । नेपालका कतिपय दूर्गम भेगमा पुगेको नेपाल टेलिकमको सेवामा प्राय समस्या आउने र सोही अनुसार समाधानका लागि केन्द्रसम्मकै पहुँच चाहिने उनको भनाई थियो ।

उनको क्षेत्र हुम्लामा पनि प्राय टेलिकमको नेटवर्कमा सिग्नल गइरहन्छ । धेरैजसो जनताले सिग्नल गएको ४ महिनासम्म सेवा पाउँदैनन् । कहिले हिउँ पर्दा समस्या, कहिले बादल लागेर पानी पर्दा निम्तिने समस्या त छँदैछ, नेटवर्कमै आउने समस्याको पनि बेलैमा समाधान नहुने समस्याले हुम्लाबासी आजित भएको उनले बताईन् । तर त्यति हुँदाहुँदै पनि आफ्ना सेवाको गुणस्तर र पहुँचका बारेमा जानकारी नराख्ने टेलिकमले पहुँचका आधारमा भने सेवा मर्मत चाँडै गर्ने गरेको गुनासो उनको थियो ।

‘म असोजमा हुम्ला गएको थिएँ त्यहाँ सिग्नल छैन रहेछ, सिग्नल नभएपछि एनसेलबाट सचिवज्यु (संचार तथा सूचना प्रविधि सचिव बैकुण्ठ अर्याल)लाई फोन गरेर गुनासो गरें,’ उनले भनिन्, ‘सचिवज्युलाई कल गरेको २० देखि २५ मिनेटभित्रमै सिग्नल आयो र समस्या समाधान भयो ।’ यसरी कुनै क्षेत्रको नेटवर्कको गडबडी हटाउन सीधै कि नेपाल टेलिकमको उच्च ओहोदामा बसेका कर्मचारी वा मन्त्रालयका सचिवलाई नै फोन गर्नुपर्ने अवस्थाको अन्त्यको माग पनि उनले गरेकि थिइन । ‘कुनै स्थानको मोबाईल टावरमा समस्या आए बनाउनका लागि मन्त्री, सचिव वा एमडीलाई नै फोन गर्नुपर्ने समस्या कहिलेसम्म रहन्छ ?’ उनले प्रश्न गरिन्, ‘अब त टेलिकम गम्भीर भईदिनुपर्याे ।’

उनीसँगै अर्का एमालेका सांससद गणशस पहाडीको धारणा पनि त्यस्तै थियो । ‘एनसेलको सेवा धेरै स्थानमा पुगेको छैन यो त आफ्नो विजनेस हेर्ने हो,’ उनले भने, ‘टेलिकमले आफुले सेवा पुर्याएको स्थानमा समयमै मर्मत नगरिदिनाले जनता मारमा पर्नुपरेको छ । विकास तथा प्रविधि समितिको बैठकमा संचार सचिव बैकुण्ठ अर्याल, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमकी निमित्त प्रवन्ध निर्देशक प्रतिभा बैद्य र टेलिकमका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

एकजना संचारकर्मीको गुनासो पनि त्यस्तै छ । गत असोजमा दशैं मनाउन गाउँ पुगेका उनले टेलिकमको फोरजी चलाउन पाईने आशामा काठमाडौंबाटै ३० जिवीको डाटा खरिद गरेर लगे । तर, गाउँ पुग्दा उनले निरास हुनुपर्याे । गाउँ पुग्दा फोरजी त परै जावस थ्रिजीसमेत नचलेको उनले सुनाए । त्यसपश्चात उनले टेलिकमका तत्कालीन एमडीलाई फोन गरेर गुनासो राखेपछि केही समयमै फोरजी सेवा संचालनमा आयो । यी त टेलिकमका प्रतिनिधि घटना मात्रै हुन् ।

विजुली नपुगेको स्थानमा सोलार व्यापक राखेर भएपनि मोबाइल इन्टरनेट सेवा पुर्याएको टेलिकमलाई यस्ता स्थानबाट पनि गुनासो आउने गरेको छ । घामको भरमा संचालनमा आउने यस्ता टावरहरुमा पर्याप्त ब्याकअप नभएपछि घाम अस्ताएसँगै सेवा पनि अस्ताउँछ । यति मात्रै होईन कर्णालीका विभिन्न जिल्ला, सुदूरपश्चिममा पहाडी जिल्ला, रसुवा, ताप्लेजुङलगायतका देशभरका पहाडी र हिमाली जिल्लाहरुमा यस्ता समस्या निम्तिने गरेका छन् । काठमाडौंकै कुरा गर्दा पनि धेरैजसो स्थानमा फोन नलाग्ने, लागे पनि डिस्टर्व आउने र कहिलेकाहीँ बोल्दाबोल्दै एकछिन नसुनिने र केहीबेर पछि सुनिने समस्या आउने गरेको स्वयं संचार सचिव बैकुण्ठ अर्याल स्वीकार्छन् । तर, पछिल्लो एक बर्षमा काठमाडौंमा मात्रै धेरै स्थानमा सेवा प्रवाह चुस्त भएको र समस्या समाधान भएपछि यस्तो गुनासो घटेको उनले बताए ।

‘हामीले धेरैजसो गुनासोको सकेसम्म चाँडो व्यवस्थापन गरेर सम्बोधन गर्ने गरेका छौं,’ उनले भने, ‘काठमाडौंमा मात्रै पछिल्लो १ बर्षमा धेरै सुधार भएको छ ।’ नेपाल टेलिकमले देशभर फोरजीसँगै अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्याउने गरी काम अघि बढाइसकेको छ । तर, सोही अनुसार बेलाबेलामा आउने गुनासोलाई सम्बोधन गर्दै गरेको टेलिकमकी निमित्त प्रवन्ध निर्देशक प्रतिभा वैद्यले बताईन् । उनका अनुसार हाल देशभर ३ हजार ७ सय ७४ स्थानमा टेलिकमको फोरजी पुगसकेको छ भने ४ हजार १ सय ५४ स्थानबाट मोबाईल सेवा वितरण भईरहेको छ । उनका अनुसार देशभर वितरण गरिएका टावरहरुमध्ये कर्णाली प्रदेशमा भने सबैभन्दा क १ सय ९४ ओटा टावर जडान गरिएको छ । जसमा १८६ टावरबाट टुजी, ८५ टावरबाट थ्रिजी र १ सय ३७ टावरमा फोरजी जडान गरिएको छ । यो संख्या धेरैजसो एकै विटीएस टावरमा टुजी, थ्रिजी र फोरजी जडान भएका छन् ।

यस्तै टेलिकमले फोरजी विस्तारकै लागि ६ सय ४० ओटा नयाँ टावर विस्तार समेत गरेको छ । पहाडी र हिमाली जिल्लाका धेरैजसो टावहरुमा अप्टिकल केवलमार्फत व्याण्डविथ पुगेको छैन । उक्त स्थानहरुमा टेलिकमले भिस्याट र रेडियो लिंकमार्फत सेवा पुर्याईरहेको छ । यस्ता टावरहरुमा बेलाबेलामा समस्या आईरहने टेलिकमको भनाई छ । त्यसका लागि टेलिकमले अप्टिकल फाइबर विस्तार परियोजनालाई तीव्र रुपमा अघि बढाएको टेलिकमकी निमित्त एमडी वैद्यले बताइन् ।

त्यस्तो समस्या आएको बेलामा स्थानीयले गुनासो नगर्ने र गरिहाले पनि सम्बन्धित जिल्लाका कार्यालयहरुमा गर्ने गरेका छन् । यस्तो गुनासो आएको खण्डमा सम्बन्धित जिल्लाका कर्मचारीहरुले समयमै भनेको स्थानमा पुग्न भौगोलिक रुपमा कठिनाई हुने, पुगेपनि उपकरणको कमी हुनेलगायतका समस्याका कारण विकट क्षेत्रका नागरिकहरु टेलिकम सेवाबाट महिनौं बञ्चित हुनुपर्ने बाध्यता छ । नेपाल दूरसंचार प्राधिकरणको एमआईएस प्रतिवेदनअनुसार चालु आवको कात्तिकसम्म देशभर ४ करोड १५ लाख ५३ हजार जना जनतासम्म भ्वाईस सेवा पुगिसेको छ । यो भनेको हालको कुल जनसंख्याको १ सय ३७ प्रतिशत बढि हो । यस्तै ब्रोडब्याण्ड इन्टरनेट सेवा लिनेको संख्या पनि ३ करोड ५३ लाख ४३ हजार पुगेको छ । यो पनि जनसंख्याको ११६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL