Logo

कर्णाली र सुदूरपश्चिममा ४ अर्ब लगानीमा अप्टिकल फाईबर, टेलिकमले गर्यो टेण्डर आह्वान

कर्णाली र सुदूरपश्चिममा ४ अर्ब लगानीमा अप्टिकल फाईबर, टेलिकमले गर्यो टेण्डर आह्वान



काठमाडौं । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाईबर विछ्याउनका करीब ४ अर्ब रुपैयाँ खर्चिइने भएको छ । सो प्रयोजनका लागि नेपाल टेलिकमले ३ अर्ब ८१ करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ । टेलिकमले आगामी २ बर्षमा सम्पन्न गर्ने गरी पाएको उक्त परियोजनाको बोलपत्र आह्वान गर्ने काम सम्पन्न भएको जनाएको हो ।

मध्यपहाडी लोकमार्ग र सबै जिल्लाका जिल्ला सदरमुकामलाई अप्टिकल फाईबरले जडान गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त परियोजनाका लागि २ प्याकेजमा टेण्डर आह्वान गरिएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । गत पुष १८ मै नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलाई उक्त परियोजनाको काम सुम्पेको थियो । हाल प्रदेश १, २ र ३ का केही जिल्लाहरुमा पनि अप्टिकल फाईबरको काम गरिरहेको टेलिकमले प्रदेश ६ र ७ मा पनि अप्टिकल फाईबर विछ्याउने जिम्मेवारी पाएको थियो ।

पुषअघि अर्काे दूरसंचार सेवाप्रदायक स्मार्ट टेलिकमले पाएको उक्त परियोजनाका काम निश्चित अवधिमा पुरा नहुने देखिएपछि प्राधिकरणले नेपाल टेलिकमलाई परियोजना सुम्पेको थियो । ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ) परिचालन गरि अघि बढाईको उक्त परियोजनामध्ये प्रदेश १, २ र ३ को जिम्मेवारी नेपाल टेलिकमलाई दिईएको थियो ।

यस्तै प्रदेश ४ र ५ मा विछ्याउने जिम्मेवारी पाएको युटीएलले हालसम्म काम अघि बढाईसकेको छैन । साथै प्रदेश ६ र ७ को जिम्मेवारी पाएको स्मार्ट टेलिकमले पनि भनेबमोजिम काम गर्न नसकेपछि स्मार्टबाट उक्त परियोजना खोस्दै नेपाल टेलिकमलाई सुम्पिईएको थियो ।

ग्रामीण भेगमा इन्टरनेट पुर्याउने मेरुदण्डको रुपमा हेरिएको सूचना महामार्ग ५ प्रदेशमा विछ्याउने जिम्मा नेपाल टेलिकमले पाएको छ । जसमध्ये हालसम्म प्रदेश १, २ र ३ मा ३ सय २ किलोमिटर अप्टिकल फाईबर विछ्याउने काम भईसकेको छ ।

तर गत पुषमै कामको जिम्मेवारी पाएको नेपाल टेलिकमले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाईबर विछ्याउन ३ महिनाभित्रै टेण्डर आह्वान गर्नुपर्ने थियो । टेलिकमले चैतमै टेण्डर प्रक्रिया अघि बढाईसक्नुपर्ने भएपनि कोरोना महामारी र यसले निम्त्याएको लकडाउनका कारण यसमा केही ढिलाई हुँदा भदौमा मात्रै यसको टेण्डर आह्वान गरिएको प्रबन्ध निर्देशक अधिकारी बताउँछन् ।

उनका अनुसार हाल विजुली नपुगेका तथा विकट बस्तीहरुका लागि माईक्रोवेभ ट्रान्समिशन नेटवर्क र एडीएसएस अप्टिकल फाईबर नेटवर्क गरी २ प्याकेजमा टेण्डर आह्वान गरिएको छ । जसमध्ये माईक्रोवेभ ट्रान्समिशन नेटवर्क भने अप्टिकल फाईबर विछ्याउन नसकिने स्थानमा प्रयोग गरिन्छ । यस्तै एडीएसएस अप्टिकल फाईबर भने निश्चित स्थानसम्म मात्रै पुर्याउने लक्ष्य छ । तर पछिल्लो समय लागु भएको निषेधाज्ञाका कारण टेण्डर आह्वान गरिएपनि कम्पनीहरुले साईट सर्भे गर्न कठिनाई हुँदा केही ढिलाई भएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

सम्झौताअनुसार नेपाल टेलिकमले आयोजनाको पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गमा जोडिने उत्तर दक्षिण र हुलाकी मार्गहरू जोड्नेगरि जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने अप्टिकल ब्याकबोन निर्माण गर्नेछ । कर्णाली र सुदूरपश्चिम खण्डको रूकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म (सल्यान बाहेक) नेटवर्क बिस्तार गर्नेगरि प्रदेश ५ का बाँके र वर्दियासहित २० जिल्लामा अप्टिकल फाइबर बिस्तार हुनेछ । आयोजनाअन्तर्गत करिब २४ सय किमि फाइबर अन्डरग्राउण्ड गरिने छ । साथै एडिडिएस फाईबर तथा डिबिसी बिस्तार गरिने भएको छ ।

मध्यपहाडी र हुलाकी राजमार्गमा पर्ने स्थानमा न्युनतम ‘९६ कोर’ को अप्टिकल फाइबर राखिने छ भने जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर रहने छ । भविष्यमा भ्वाइस र डाटा अपरेटरबाट हुन सक्ने मागलाई समेत ध्यानमा राख्दै चार सय गिगाबाइट सम्मको क्षमता बृद्धि हुनेगरि सय गिगावाईट र त्योभन्दा बढि क्षमता बढाउन सकिने ‘१० जी’ क्षमताका ‘कोर राउटर’ प्रयोग हुने भएका छन् । ग्रामीण दूरसंचार विकास कोषको ३ अर्ब ८१ करोड रुपैयाँमा कम्पनीले उक्त परियोजना पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL