Logo

टेलिकमको नाफा बढाउने संचार सचिवको नयाँ फर्मुला, सेयरधनीलाई ४५ प्रतिशत लाभांस

टेलिकमको नाफा बढाउने संचार सचिवको नयाँ फर्मुला, सेयरधनीलाई ४५ प्रतिशत लाभांस



काठमाडौं । नेपाल टेलिकमले आगामी बर्ष आफ्नो नाफा बढाउने योजना सार्वजनिक गरेको छ । पछिल्लो २ बर्षदेखि आम्दानी घटिरहेको भन्दै कम्पनीले विभिन्न सेवामार्फत उक्त नाफा बढाउने योजना बनाएको हो ।

कम्पनीको १२ औं बार्षि साधारण सभामा बोल्दै संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले कम्पनीले आफ्ना सेवाहरुमा सुधार गरेकाले आगामी बर्षदेखि नाफा बढ्ने बताएका हुन ।

साधारणसभामा बोल्दै उनले वायरलेस प्रविधिको फोरजी एलटीई मोबाइल सेवाको विस्तार, एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तार लगायतका सेवाहरूको गुणस्तर सुधारमा तीब्रता दिएकोले कम्पनीको राजस्व लगायत नाफा वृद्धि हुने अपेक्षा गरिएको बताए ।

प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको उनको भनाई थियो । दूरसंचार क्षेत्रमा तीब्र प्रतिस्पर्धाको कारण भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः ४३ अर्ब ८४ करोड र ९ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

साधारणसभामा बोल्दै उनले गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवाहरू सर्वसुलभ तरिकाले उपलब्ध गराउन चालू आर्थिक वर्षमा देशभरी प्रविधिको जीएसएम सेवा उपलब्ध गराउने बताए । यस्तै उनले नेटवर्क कभरेज नभएका र आयको दृष्टिकोणले तुलनात्मक रुपमा पछि परेका क्षेत्रहरूमा सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिएका छन ।

उनले वायरलाइन सेवातर्फ अप्टिकल फाइबर नेटवर्क÷एफटीटीएच प्रविधिबाट स्तरीय र भरपर्दो इन्टरनेट तथा भ्वाइस सेवा विस्तार गर्ने, मध्यपहाडी लोकमार्ग तथा सोसँग जोडिएका क्षेत्रहरूमा अप्टिकल फाइबर नेटवर्क तथा माईक्रोवेभ रेडियो लिंक विस्तार गर्ने लगायतका योजनाहरु अघि बढाएको जानकारी दिए ।

उनले निर्णय प्रक्रिया, कार्यशैली, संस्थागत संरचनामा सुधार गरी कम्पनीलाई परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा विकास गर्न कम्पनीको संरचनालाई परिमार्जन गरिएको बताएका छन । उनका अनुसार कम्पनीमा सञ्चालनमा रहेका योजनाहरू निर्धारित समयमा सम्पन्न गर्न, सोको अनुगमन गर्न र कम्पनीका काम कारवाहीलाई प्रभावकारी बनाउन कम्पनी व्यवस्थापन र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता समेत गरिएको छ ।

कम्पनीले गत आर्थिक बर्ष कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३ दशमलव ३१ अर्ब रुपैयाँ दाखिला गरेको गरेको सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले जानकारी दिए । उनले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३ दशमलव ९३ र ४ दशमलव ७५ प्रतिशतले वृद्धि भई ५४ दशमलव ८३ र ४८ दशमलव ४१ प्रतिशत पुगेको जानकारी दिए ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको १२ औं वार्षिक साधारणसभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

यसैैगरी साधारणसभाले आर्थिक बर्ष २०७६÷७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेन्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गरेको छ । बाह्रौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७६ माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL