काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। दूरसञ्चार सेवामा पहुँच विस्तार गर्दै सेवालाई सर्वसुलभ बनाउने उद्देश्यसहित प्रकाशित सूचनामा प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवा को अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईमार्फत निरन्तर जडान रोमिङ तथा चलायमान सेवा प्रदान गर्न बताएको छ ।
सूचनामा भनिएको ‘यसबाहेकका अन्य अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली, २०७५ को विनियम २०(ड) र २(च) अनुसार निश्चित क्षेत्र वा परिधिभित्र मात्र वाईफाई हटस्पट सेवा सञ्चालन गर्न पाउनेछन्। त्यस्तै, विनियम ५०(१) अनुसार प्रयोगकर्ताले एकपटक लग–इन गरेपछि निर्धारित समय वा मात्राका लागि मात्र सेवा लिन सक्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट स्वीकृत ‘रेडियो फ्रिक्वेन्सी नीति, २०८०’ को दफा ७.४, अनुसूची ४ मा उल्लेखित पावर लिमिट, ब्याकहौल प्रतिबन्ध लगायतका प्रावधानहरु अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ। साथै, सेवा सञ्चालनमा प्रयोग गरिने रेडियो उपकरणहरू अनिवार्य रूपमा प्राधिकरणबाट प्रकार स्वीकृति प्राप्त हुनुपर्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणले सम्बन्धित सबै सेवा प्रदायकहरुलाई उक्त मापदण्डहरू पालना नगरे कानुनी कारवाही हुने स्पष्ट चेतावनीसमेत दिएको छ।