काठमाडौं । चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा प्राथमिकता पाएको ‘नियो बैंक’ अवधारणा बिना नै चर्चामा ल्याइएको देखिएको छ । बजेट र मौद्रिक नीतिमा प्राथमिकता पाएको नियो बैंकलाई कसरी सञ्चालनमा ल्याउने भन्ने अवधारणा अझै केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले बनाएको छैन । केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले नियो बैंकलाई कसरी स्थापना र सञ्चालनमा ल्याउने भन्ने बारेमा हालसम्म कुनै पनि अवधारणा नबनेको बिजखबरलाई जानकारी दिए ।
‘सरकारले ल्याएको वित्त नीतिलाई मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको हो’ उनले भने, ‘यो कसरी अगाडि बढ्छ भन्ने कुनै अवधारणा बनेको छैन ।’ उनले केन्द्रीय बैंकले आवश्यक छलफल र अध्ययन गरेर यसको अवधारणा निर्माण गर्ने बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको भित्र नियो बैंक स्थापनमा गर्ने बजेट वक्तव्यमार्फत घोषणा गरेका छन् । ‘आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिनेछ’ बजेट वक्तव्यमा उल्लेख छ । उनले दुर्गम क्षेत्रमा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामिण अर्थतन्त्रको विस्तार गरिने उल्लेख गरेका छन् ।
यता, केन्द्रीय बैंकले सरकारले बजेटमा उल्लेख गरेको नीतिलाई कार्यान्वयन गर्ने गरेर मौद्रिक नीतिमा पनि नियो बैंकलाई प्राथमिकतामा राखेको छ । ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वित्तीय पहुँच विस्तार गर्न नियो बैंक स्थापनाका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाइनेछ,’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ । नेपालमा डिजिटल भुक्तानीको तीव्र वृद्धिले नियो बैंक स्थापनाको माग बढेको देखाउँछ ।
पछिल्लो समय डिजिटल कारोबार ह्वातै बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई सहज बनाउन विभिन्न उपकरणहरु ल्याएका छन् । नियो बैंकको चलन अहिले विश्वभरि निकै बढेको छ । पछिल्लो समय नेपालमा पनि यसको आवश्यकता महशुस भएको जानकारहरुको भनाइ छ । तथापि, यसको लागि स्पष्ट नीति, बलियो नियमन, सुरक्षित प्रविधि र व्यापक डिजिटल साक्षरता हुन आवश्यक छ । यो अवस्थामा नेपालले नियो बैंकमार्फत एक समावेशी र गतिशील डिजिटल वित्तीय भविष्य कोर्न सक्ने जानकारहरु बताउँछन् ।
के हो नियो बैंक, यसले कसरी गर्छ काम ?
नियो बैंक भनेको भौतिक शाखाविहीन, पूर्णतया मोबाइल एप वा वेबसाइटमार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्था हो । यसले ग्राहकलाई परम्परागत बैंकका ठूला भवन, काउन्टर र लामो लाइनको झन्झटबाट मुक्ति दिएर आफ्नै हातमा बैंकिङ कारोबार प्रदान गर्दछ ।
जसले बैंकिङ सेवाहरु जस्तै खाता खोल्ने, रकम जम्मा र निकाल्ने, लोन दिने, बचत तथा खाता सञ्चालन गर्ने काम डिजिटल र मोबाइल माध्यमबाट गर्न सकिने व्यवस्था गर्छ । बैंकहरुको तुलनामा नियो बैंकहरूको शुल्क सामान्यतः कम हुन्छ । डिजिटल प्लेटफर्ममार्फत खाता खोल्न सकिन्छ भने कागजी प्रक्रियाको आवश्यकता पर्दैन ।