काठमाडौं । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यसहित डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा सम्पन्न भएको छ।
प्रतियोगिता २०८२ असार १४ र २१ गते गरी दुई दिन सञ्चालन भएको थियो। प्रतियोगितामा १४ व्यावसायिक कम्पनीहरूबाट १७ टिमले सहभागिता जनाएका थिए। ती टिमलाई चार समूहमा विभाजन गरि समूह चरणका खेलहरू सम्पन्न गरिएको थियो।
समूह चरणपश्चात् समूह ‘क’ बाट एक्योर सफ्टवेयर प्रा।लि। र आइएमई लिमिटेड, समूह ‘ख’ बाट अप्टिनेट सोलुशन प्रा।लि। र आइएमई कोअपरेटिभ प्रा।लि।, समूह ‘ग’ बाट नेपाल डिजिटल सर्भिस प्रा।लि। र सीजी कम्युनिकेशन लिमिटेड तथा समूह ‘घ’ बाट डिशहोम इन्टरनेट अमनिल टेक्नोलोजी प्रा।लि। क्वाटरफाइनलमा प्रवेश गरेका थिए।
क्वाटरफाइनलपछि सेमिफाइनलमा आइएमई कोअपरेटिभ, नेपाल डिजिटल सर्भिस, अप्टिनेट सोलुशन र सीजी कम्युनिकेशन प्रवेश गरेका थिए। अन्तिम प्रतिस्पर्धा सीजी कम्युनिकेशन र नेपाल डिजिटल सर्भिसबीच भएको थियो। फाइनल खेलमा सीजी कम्युनिकेशनले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
सीजीका खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुशनले आइएमई कोअपरेटिभलाई पराजित गर्यो।
विजेता सीजी कम्युनिकेशन, उपविजेता नेपाल डिजिटल सर्भिस र तेस्रो स्थान प्राप्त अप्टिनेट सोलुशनले क्रमशः नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए। उत्कृष्ट खेलाडीको रुपमा अप्टिनेट सोलुशनका धिरज बास्कोटा र उत्कृष्ट गोलकिपरको रुपमा सीजी कम्युनिकेशनका लोकेन्द्र तामाङ चयन भए।
समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो। डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध सुदृढ पार्ने उद्देश्यले यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।