Logo

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक



काठमाडौं । पछिल्लो समय नेपालको दूरसंचार क्षेत्र लगातार उकालो लाग्दो छ । त्यसमाथि इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले फाईबरमार्फत इन्टरनेट सेवा दिने होडले इन्टरनेटमा झन धेरै प्रयोगकर्ताहरु जोडिन पाएका छन् ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणको गत चैतसम्मको तथ्यांकलाई आधार मान्दा नेपालमा हाल कुल ३ करोड ५२ लाख ३२ हजार ५ सय २४ जनाले विभिन्न दूरसंचार सेवाप्रदायकको सिमकार्ड लिएर भ्वाईस सेवा प्रयोग गरिरहेका छन् । यस्तै ४ करोड २३ लाख बढी प्रयोगकर्ताहरुले इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।

अर्थात माथिका तथ्यांक हेर्दा नेपालको जनसंख्याभन्दा पनि बढी सेवाप्रदायकले भ्वाईस र इन्टरनेट सेवा प्रयोग गरिरहेको देखिन्छ । अर्थात एकै प्रयोगकर्ताले दुई वा दुईभन्दा बढी सिमकार्ड प्रयोग गरेका कारण प्रयोगकर्ता पनि जनसंख्याभन्दा बढी देखिएको प्राधिकरणले जानकारी दिँदै आएको छ । प्राधिकरणले हालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार मान्छ । सोही अनुसार जनसंख्याका आधारमा भ्वाइस सेवाग्राहीको संख्या जनसंख्याभन्दा ६१ लाखले र इन्टरनेट सेवाग्राहीको संख्या १ करोड ३२ लाखले बढी हो ।

उसो त प्राधिकरणले सेवाग्राहीको संख्या नदोहोरिने गरी र निष्क्रिय सेवाग्राहीलाई गणना नगर्नेगरी तथ्यांक सार्वजनिक गर्नै बताउँदै आएको थियो । सोही अनुसार गत बर्षको असोजदेखि नै तथ्यांकलाई व्यवस्थित बनाउने भन्दै तथ्यांक प्रकाशन नै रोकेको प्राधिकरणले पुरानै प्रवृत्तिलाई आत्मसात गर्दै पुनः अव्यवस्थित तथ्यांक सार्वजनिक गरेको हो ।

उक्त तथ्यांक अनुसार भने सरकारी स्वामित्वको नेपाल टेलिकम निजी सेवाप्रदायक एनसेलभन्दा ग्राहक संख्याका आधारमा धेरै अगाडी देखिन्छ । तथ्यांकलाई आधार मान्दा नेपाल टेलिकमको भ्वाईस सेवाग्राही मात्रै ३ करोड ५२ लाख २९ हजार जना छन् । टेलिकमले फाईबर टु दी होम र जीएसएसममार्फत भ्वाईस सेवा दिँदै आएको छ । जसमध्ये फाईबर टु दी होम सेवामार्फत ३ लाख ५४ हजारले भ्वाई सेवा लिईरहेका छन् भने जिएसएममार्फत २ करोड १९ लाख २३ हजारले सेवा लिईरहेको देखिन्छ । यता एनसेलले भने भ्वाईस सेवा जिएसएसम नेटवर्कबाट मात्रै दिन्छ । यसका ग्राहक हालसम्म १ करोड २९ लाख ५२ हजार पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यता इन्टरनेट सेवातर्फ पनि नेपाल टेलिकमकै प्रयोगकर्ता उच्च रहेको तथ्यांकमा देखिन्छ । नेपाल टेलिकमले देशभर एडिएसएल केबल, फाईबर टु दी होम (एफटिटिएच) थ्रिजी र फोरजीमार्फत फिक्स्ड र मोबाईल ब्रोडब्याण्ड इन्टरनेट सेवा दिँदै आएको छ । यसरी विभिन्न माध्यमबाट इन्टरनेट वितरण गर्न कम्पनीका इन्टरनेट सेवाग्राही २ करोड १७ लाख ६५ हजार बढि पुगेका छन् । जसमा सबैभन्दा ठुलो हिस्सा फोरजी मोबाइल ब्रोडब्याण्डमा फोरजीको देखिन्छ ।

कम्पनीका फोरजी प्रयोगकर्ता मात्रै १ करोड ४८ लाख १२ हजार पुग्दा ३ बर्ष अघिदेखि विस्तार थालिएको एफटिटिएचमार्फत इन्टरनेट चलाउनेको संख्या भने १२ लाख ८२ हजार छ । यो प्रविधिमार्फत भने कम्पनीले ग्राहक विस्तार गर्न नसकेको देखिन्छ । कम्पनीले एडिएसएल केबल हटाएर एफटिटिएच जडान गर्ने अभियान थालेपनि अझै कम्पनीका एडिएसएलमार्फत इन्टरनेट चलाउने ग्राहक ३७ हजार बढी छन् ।

यता एनसेलको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या भने नेपाल टेलिकमको तुलनामा झण्डै ४५ लाखले कम छ । कम्पनीले मोबाईल ब्रोडब्याण्ड अन्तर्गतको थ्रिजी र फोरजी सेवामार्फत इन्टरनेट प्रदान गर्दैै आएको छ । कम्पनीको फोरजी सेवाग्राही हालसम्म ६० लाख १९ हजार र थ्रिजी प्रयोगकर्ता १५ लाख २७ हजार माथि छन् । एनसेलका फोरजी प्रयोगकर्ता नेपाल टेलिकमको तुलनामा करिव ८८ हजारले कम छन् ।

नेपालमा इन्टरनेट विस्तारको अर्काे क्षेत्र इन्टरनेट सेवाप्रदायकले पनि आफ्ना ग्राहकसंख्या लगातार बढाईरहेका छन् । जसमा हालसम्म इन्टरनेट सेवाप्रदायकले प्रदान गर्ने इन्टरनेट चलाउनेको संख्या १ करोड २९ लाख ६० हजार पुगेको छ । खासगरी फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गतको तारसहितको र ताररहित सेवा इन्टरनेट सेवाप्रदायकले प्रदान गर्दै आएका छन् । जसमध्ये फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गतको तारसहितको एफटिटिएच केबलमार्फत इन्टरनेट सेवा उपयोग गर्ने प्रयोगकर्ताको संख्या १ करोड २९ लाख १५ हजार छ । यस्तै ताररहित सेवामार्फत भने ४४ हजार १ सय ८५ जना सेवाग्राही रहेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

हालसम्मको तथ्यांकलाई हेर्दा नेपालमा इन्टरनेट सेवा दिईरहेको सेवाप्रदायकमध्ये सबैभन्दा बढी सेवाग्राही वर्ल्डलिंकका छन् । कम्पनीका हालसम्म ८ लाख ९९ हजार कनेक्सनमार्फत सेवा दिईरहेको छ । यसले नेपालको कुल इन्टरनेट मार्केटको २७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । त्यसपछि सबैभन्दा बढी कनेक्सनसहित डिसमिडिया नेटवर्क दोस्रो स्थानमा छ । कम्पनीले हालसम्म ३ लाख ६२ हजार कनेक्सन जडान गरेको छ ।

यस्तै भायानेटको ३ लाख २५ हजार कनेक्सन, क्लासिक टेकको ३ लाख ८ हजार, नेपाल टेलिकमको ३ लाख २ हजार र सुविसुको २ लाख ९४ हजार कनेक्सन छ । प्राधिकरणले एक कनेक्सन बराबर ४.३७ जना सेवाग्राही हिसाव गर्ने गरेको छ । अर्थात कुनै एक घरमा इन्टरनेट कनेक्सन भएमा त्यो घरमा औसत ४.३७ जना इन्टरनेटको पहुँचमा पुग्ने प्राधिकरणको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL