Logo

फेसबुकमा ३८ लाख नेपाली, एनसेल सबैभन्दा लोकप्रिय ब्राण्ड

फेसबुकमा ३८ लाख नेपाली, एनसेल सबैभन्दा लोकप्रिय ब्राण्ड


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददता

दुरसञ्चार सेवा प्रदायक कम्पनीहरूले डाटा सेवालाई प्राथमिकतामा राखेपछि पछिल्लो समय नेपालमा इण्टरनेट प्रयोगकर्ता बढ्दै गएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको हालैको तथ्याङ्क अनुसार पनि नेपालमा ९३ लाख भन्दा बढी इण्टरनेट प्रयोगकर्ता रहेका छन् । इण्टरनेटको यो बढ्दो प्रयोगसँगै प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकमा एकाउण्ट खोल्ने नेपालीको जमात पनि ठूलै छ ।

फेसबुककै तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले ३८ लाख नेपालीले यसको एकाउण्ट बनाइसकेका छन् । विश्वभर नै लोकप्रीय फेसबुकमा नेपालका महिला भन्दा पुरूषको आबद्धता भने निकै बढी छ । तथ्याङ्क अनुसार फेसबुक प्रयोग गर्ने कुल सङ्ख्याको ६८ प्रतिशत हिस्सा पुरूषहरूको छ । बाँकी ३२ प्रतिशत महिला छन् । त्यसमा पनि १८ बर्षदेखि २४ बर्षका युवापुस्ता माझ यो सबैभन्दा बढी लोकप्रिय देखिन्छ ।

यो उमेर समुहको हिस्सा ५० प्रतिशत छ । त्यस्तै २५ देखि ३४ बर्षका युवा जमातको हिस्सा भने २८ प्रतिशत छ । सबैभन्दा रमाइलो त १३ बर्ष उमेरदेखि नै नेपालमा फेसबुक प्रयोग गर्ने पाइएको छ । फेसबुकका निर्माता मार्क जुकरवर्गकै देश अमेरिकामा भने बालबालिकालाई फेसबुक प्रयोग गर्न प्रतिबन्ध छ । कुल प्रयोगकर्ताको ८ दशमलव ५ प्रतिशत यहिं १३ देखि १७ बर्ष उमेर समुहको छ । बाँकी भने ३५ बर्षभन्दा बढी उमेर समुहका छन् ।
फेसबुकमा सबैभन्दा बढी लोकप्रिय ब्राण्डको रूपमा टेलिकम सेवाप्रदायक एनसेल देखिएको । प्रत्येक दिन बढ्ने लाइकको आधारमा एनसेल सबैभन्दा अघिल्लो ब्राण्ड बन्न पुगेको हो । अहिले मात्रै एनसेलको फेसबुक पेजमा ७ लाख भन्दा बढी लाइक रहेको छ । त्यस्तै एनसेल पछि यती एयरलाइन्स, एस ट्राभल, सामसुङ् मोबाइल र स्प्यारो एसएमएस क्रमशः प्रमुख पाँच ब्राण्ड बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL