Logo

क्युआर भुक्तानीमा अभ्यस्त बन्दै नेपाली : एक बर्षमै ७ करोड ८० लाख पटक स्क्यान, साढे २ खर्ब भुक्तानी

क्युआर भुक्तानीमा अभ्यस्त बन्दै नेपाली : एक बर्षमै ७ करोड ८० लाख पटक स्क्यान, साढे २ खर्ब भुक्तानी



काठमाडौं । पछिल्लमो समय नेपाली उपभोक्ताहरु क्युआर भुक्तानीमा अभ्यस्त बन्दै गएका छन् । केही वर्षअघि सम्म नगद कारोबारमा रमाइरहेका नेपालीहरु क्यूआर भुक्तानी सहज भएसँगै त्यसतर्फ आकर्षित भइरहेको देख्न सकिन्छ । यसको पुष्टि पछिल्लो समय बढेको क्यूआर भुक्तानीको तथ्यांकले पनि गर्छ । आर्थिक बर्ष २०७९/८० मा मात्रै क्युआर स्क्यान गरी झन्डै साढे २ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षको विवरणअनुसार गत आर्थिक बर्ष भुक्तानी प्रणालीको माध्यम क्युआरमार्फत मात्रै २ खर्ब २४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो ।

laxmi

यो अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी हो । अघिल्लो आर्थिक बर्षमा यस्तो भुक्तानी ९४ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै भएको थियो । पछिल्लो समय बढ्दै गएको सरल भुक्तानी बानीका कारण क्युआर पेमेन्टमार्फत हुने भुक्तानी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०७६÷७७ मा शुन्य रहेको क्युआरमार्फत हुने भुक्तानी त्यसको पछिल्लो बर्ष २०७७÷७८ मा एकै बर्ष ८ लाख ५५ हजार पटक क्युआर स्क्यान गरी ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

उक्त बर्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको पहुँचसम्म विद्युतीय भुक्तानी पुर्याउने गरी क्युआर पेमेन्टलाई बढी नै प्राथमिकता दिएका थिए । उनले आफ्नो कार्यकालको पहिलो केही महिना विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्न भन्दै क्युआर पेमेन्ट सिस्टमको प्रवद्र्धन गरेका थिए । जसको फलस्वरुप हाल चिया पसल, तरकारी फलफूल पसलदेखि रेष्टुरेन्ट, सपिङ मल, शोरुमसम्म पनि क्युआर कोडमार्फत सेवा तथा वस्तुको भुक्तानी गर्न सकिने अवस्था आएको छ । जसका कारण सोही बर्षदेखि नै क्युआर पेमेन्टको भुक्तानी लगातार बढिरहेको देख्न सकिन्छ ।

उक्त बर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि यस्ता विषयहरुलाई प्राथमिकता दिएको थियो । जसमा विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रर्वद्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरुलाई विशेष पुर्नकर्जा उपलब्ध हुने व्यवस्था गरिने कुरा मौद्रिक नीतिमा समेटिएको थियो । यसमा क्युआर पेमेन्टलाई पनि विशेष प्राथमिकता दिईएको थियो । सोही बर्षयता सुरु भएको क्युआर पेमेन्टमार्फतको भुक्तानी सहज, सरल र छिटो छरितो भएकै कारण यसमा आकर्षण बढिरहेको पाईन्छ । यसैको कारण भनौं हाल प्रतिमहिना करिव १० देखि ३० अर्ब रुपैयाँ बराबरको भुक्तानी क्युआरमार्फत नै हुनेगरेको छ ।

यसको वृद्धिलाई हेर्दा पनि यसको प्रयोग अघिल्लो आर्थिक बर्षको तुलना ५ करोड १० लाख ७९ हजार पटकले बढेको छ । अघिल्लो आर्थिक बर्षभरी २ करोड ६९ लाख पटक भएको क्युआर भुक्तानी गत आर्थिक बर्ष बढेर ७ करोड ८० लाख २९ हजार पटक पुगेको हो । अहिलेको पुस्ता नै छिटोछरितो र सरलसँगै सुरक्षित भुक्तानीको माध्यममा आकर्षित हुने भएकाले यसको प्रयोग बढ्दै गएको नेपाल राष्ट्र बैंकको सहप्रवक्त डिल्लीराम पोख्रेल बताउँछन् । उनका अनुसार क्युआर पेमेन्टलाई राष्ट्र बैंकले पनि विशेष रुपले प्रवद्र्धनमा जोड दिई हरेकजसो कन्जुमर पुग्नुपर्ने स्थानमा यसको प्रयोगलाई बढावा दिएको छ । जसका कारण एक बर्षमै पनि यसमा ठुलो मात्रामा आकर्षण बढेको देखिएको छ । ‘मान्छेलाई अब कुनैपनि काम छिटो छरितो र सरल रुपमा चाहिएको छ,’ उनले भने, ‘क्युआर पेमेन्ट भुक्तानीको सरल र न्युन झन्छटिलो विधि हो जसका कारण यसमा आकर्षण अझै बढ्ने देखिएको छ ।’ राष्ट्र बैंकले यसलाई विशेष रुपले प्रवद्र्धन गरेकै कारण यो सुरुभएयता अर्थात आव २०७७÷७८ यता मात्रै १० करोड ५८ लाख ३४ हजार पटक स्क्यान गरी ३ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

एक बर्षमा ६ अर्ब १८ करोडको अनलाईन सपिङ

गत आर्थिक बर्षभरी नेपालीहरुले ६ अर्ब १८ करोड रुपैयाँ बढीको इकमर्श भुक्तानी (अनलाईन सपिङ) गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा ९ लाख ९० हजार पटक गरी ६ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको अनलाई सपिङ भएको हो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा भने १ अर्ब ३४ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक बर्ष ८ लाख १९ हजार ३ सय ९५ पटक गरी ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको मात्रै अनलाईन सपिङ भएको थियो ।

गत आर्थिक बर्ष विद्युतीय भुक्तानी प्रणालीमध्ये रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस), इलेक्ट्रिक चेक क्लियरिङ (इसीसी) र इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीमा भने गिरावट आएको देखिएको छ । यी तिनै माध्यमबाट गत आर्थिक बर्ष अघिल्लो आवको तुलनामा क्रमशः ७८ खर्ब ४४ अर्ब, २५ खर्ब ६६ अर्ब र २ अर्ब ६६ करोड रुपैयाँको गिरावट आएको हो ।

यसै अवधिमा अघिल्लो आवको तुलनामा गत आवमा भने कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी १० खर्ब ३२ अर्ब, मोबाईल बैंकिङमार्फत ९ खर्ब ७५ अर्ब र एटिएममार्फत निकाल्ने पैसा १ खर्ब २८ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक बर्षभरी विद्युतीय भुक्तानीका माध्यमबाट मात्रै ५ सय १६ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा भने ७८ खर्ब ६७ अर्ब रुपैयाँले कम हो । अघिल्लो आवको यहि अवधिमा ५ सय ९५ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL