Logo

डेढ बर्षमा टेलिफोन र इन्टरनेट सम्बन्धी ५ सय उजुरी दर्ता, समयमै मर्मत नगरिदिएको धेरै

डेढ बर्षमा टेलिफोन र इन्टरनेट सम्बन्धी ५ सय उजुरी दर्ता, समयमै मर्मत नगरिदिएको धेरै



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा अघिल्लो आर्थिक बर्ष २०७७/७८ को पुषदेखि गत आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म ५ सय ५ ओटा उजुरी परेका छन् । उपभोक्ताहरुले आफुले प्रयोग गरिरहेका इन्टरनेट र टेलिफोनका विभिन्न समस्याहरु सम्बन्धि सेवाप्रदायकविरुद्ध उक्त गुनासो प्राधिकरणमा पठाएका हुन् ।

laxmi

प्राधिकरणका अनुसार अघिल्लो बर्षको पुषदेखि यो बर्षको असार मसान्तसम्म डेढ बर्षमा प्राधिकरणमा समयमै मर्मत नगरिदिएको, इन्टरनेट नचलेको, इन्टरनेटको स्पिड भनेबमोजिम नपाईएको लगायतका उजुरीहरु आएका हुन् ।

जसमध्ये सबैभन्दा बढी राउटर विग्रेको समयमै मर्मत नभएकोलगायतका उजुरीहरु छन् । अन्य शिर्षकमा पर्ने यस्तो उजुरी पछिल्लो ६ महिनामा प्राधिकरणमा १ सय ४४ ओटा दर्ता भएका छन् । यस्तै धेरै उजुरी दर्ता हुने अर्काे समस्यामा भने मर्मत र इन्टरनेट स्लो चलेको समस्या छन् । यी दुबै समस्यामा समान ७३/७३ उजुरी डेढ बर्षमा प्राधिकरणमा दर्ता भएका छन् । साथै इन्टरनेटको बिलिङमा समस्या भएको ४९ ओटा, इन्टरनेट काटिएको ४४ ओटा र इन्टरनेटको स्पिड घटबढ गरी पठाएको ७१ ओटा गुनासो डेढ बर्षको अवधिमा प्राधिकरणमा दर्ता भएका छन् ।

प्राधिकरणका अनुसार गत आर्थिक बर्ष मात्रै करिव ३ सय उजुरी दर्ता भएका छन् । त्यसमध्ये इन्टरनेट नचलेको, समयमै मर्मत नगरिदिएको लगायतकै समस्या धेरै छन् । तर, सेवाप्रदायकको सेवाको गुणस्तरको तुलनामा गुनासो धेरै कम आउने गरेको जानकारहरु बताउँछन् ।

प्राधिकरणले गुनसो लिनका लागि र सुनुवाई गर्नका लागि गुनासो ह्यान्डलिङ सेवाको व्यवस्था गरेको छ । तर, इन्टरनेट र टेलिफोन सेवाग्राहीहरुले उक्त कुराको जानकारी नपाउँदा भनेबमोजिम गुनासो गर्न नसकेको उपभोक्ता अधिकारकर्मीहरु पनि बताउँछन् ।

सेवाग्राहीले आफुलाई परेको समस्या सबैभन्दा पहिले सेवाप्रदायकलाई गुनासो गर्ने गर्छन् । त्यसपछि पनि समस्या सुनुवाई नभएपछि मात्रै प्राधिकरणमा उजुरी गरिएका कारण उजुरी कम हुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । उनका अनुसार प्राधिकरणमा आएका उजुरीको सम्बोधन गर्ने कार्य पनि गुनासो ह्यान्डलिङ सेवामार्फतनै हुने गर्छ । प्राधिकरणले सम्बन्धित सेवाप्रदायकलाई गुनासाका आधारमा आवश्यक निर्देशन दिने गरेको छ । यस्तो हुँदा धेरैजसो सेवाग्राहीको गुनासो सम्बोधन हुने गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । ‘सेवाग्राहीले आफुलाई मर्का पर्दा हामीलाई उजुरी गर्ने हो,’ उनले भने, ‘हामीले पनि सोही अनुसार उजुरीको सुनुवाई गरिदिने गरेका छौं ।’

यसरी सेवाप्रदायककै कमजोरीका कारण सेवाग्राहीलाई उजुरी गर्दा धेरै खर्च हुने गरेको भन्दै प्राधिकरणले सबै दूरसंचार सेवाप्रदायकलाई टोलफ्रि नम्बर राख्न निर्देशन दिईसकेको छ । सोही अनुसार हाल नेपालमा संचालित धेरैजसो दूरसंचार सेवाप्रदायकले ग्राहकको सहजीकरणकै लागि र गुनासो लिनका लागि टोलफ्रिको व्यवस्था गरिदिएका छन् । सोही अनुसार पनि सेवाग्राहीले धेरैजसो गुनासो सम्बन्धित सेवाप्रदायकलाई नै गर्ने गरेको अध्यक्ष खनाल बताउँछन् ।

प्राधिकरणमा दूरसंचार उपभोक्ताले नेटवर्क कभरेज न्युन भएको, पैसा बढि तिर्नुपरेको, टेलिफोनको रिचार्ज गर्दा रिचार्ज नभएको, डाटा प्याकेजमा समस्या भएकोलगायतका गुनासोहरुसमेत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL