Logo

नेपाल टेलिकमको १४ औं बार्षिक साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि बोनस र नगद लाभांस पारित

नेपाल टेलिकमको १४ औं बार्षिक साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि बोनस र नगद लाभांस पारित



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस सेयर र प्रति सेयर २० रुपैयाँ (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

laxmi

साधारणसभामा करिब ९२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको कम्पनीले जानकारी दिएको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीबाट गरिएका विभिन्न कार्यलाई राष्ट्र निर्माणमा योगदान, सामाजिक क्षेत्रमा योगदान, संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन, व्यावसायिक सफलता, सेवा विस्तार तथा गुणस्तर सुधार, व्यावसायिक रणनीति र संस्थागत सुधार जस्ता विभिन्न शीर्षकमा विभाजन गरी उहाँले विस्तृत रुपमा जानकारी प्रदान गरेका छन् ।

उनले कम्पनीको बारेमा थप जानकारी दिंदै भने, ‘आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कर तथा गैर कर वापत आफ्नो कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम अर्थात् २७ अर्ब ७३ करोड रुपैयाँ राजस्व दाखिला गरेको छ । यस अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल सरकारद्वारा सम्मानितसमेत भएको छ ।
अध्यक्ष अर्यालले भने, ‘यस आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको छ । कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ । बजारको माग अनुसार कम्पनीले डाटा सेवामा जोड दिई सोही अनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको छ । यस आर्थिक वर्षमा कम्पनीले डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL