Logo

फोरजी ग्राहक संख्यामा एनसेललाई उछिन्यो टेलिकमले, एफटीटीएचका ग्राहक पनि बढे

फोरजी ग्राहक संख्यामा एनसेललाई उछिन्यो टेलिकमले, एफटीटीएचका ग्राहक पनि बढे



काठमाडौं । फोरजी ग्राहकको संख्यामा नेपाल टेलिकमले निजी सेवाप्रदायक कम्पनी एनसेललाई उछिनेको छ । फोरजी सेवा विस्तार सुरु हुँदादेखि नै एनसेलभन्दा पछि रहेको नेपाल टेलिकमले भदौ महिनामा भने एनसेललाई उछिनेको हो ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको म्यानेज्मेन्ट इन्फर्मेशन सिस्टम (एमआईएस) प्रतिवेदन सार्वजनिक गर्दै नेपाल टेलिकमले फोरजी ग्राहक संख्या एनसेल भन्दा बढि पुर्याएको जानकारी दिएको हो ।

प्राधिकरणको प्रतिवेदन अनुसार भदौ मसान्तसम्म नेपाल टेलिकमले आफ्ना फोरजी ग्राहकको संख्या ६२ लाख ६८ हजार ३९ जना पुर्याएको छ । यो संख्या एनसेललको फोरजी ग्राहकको तुलनामा ५ लाख ४२ हजार २ सय ५९ जनाले बढि हो । भदौ मसान्तसम्म एनसेलका फोरजी ग्राहक संख्या भने ५७ लाख २५ हजार ७ सय ८० जना छन् ।

नेपाल टेलिकमले २०७३ साल पुसदेखि काठमाडौं र पोखराबाट फोरजी सेवा संचालनमा ल्याएपनि एनसेलले त्यसको ५ महिनापछि मात्रै फोरजी सेवा विस्तार अघि बढाएको थियो । एनसेलभन्दा अघि सेवा विस्तार सुरु गरेको र देशकै ठुलो सेवाप्रदायक भएपनि ग्राहकसंख्यामा भने नेपाल टेलिकम पछाडी नै रहेको भन्दै आलोचना आउने गरेको थियो ।

तर, गत महिनामा मात्रै फोरजी सेवा ग्राहकको संख्यामा एनसेलभन्दा १ लाख ७१ हजार जनाले पछाडी रहेको नेपाल टेलिकमले एक महिनाको अवधिमै ९ लाख २७ हजार जनाले ग्राहक बढाउँदा एनसेललाई उछिन्न सफल भएको हो । यस अवधिमा एनसेलले भने आफ्ना फोरजी ग्राहक संख्या २ लाख १४ हजार जनाले बढाएको छ ।

यस्तै नेपाल टेलिकमले फाईबरमार्फत दिईने सेवा विस्तारलाई तिव्रता दिएपछि यसका ग्राहक पनि बढेका छन् । प्राधिकरणको प्रतिवेदन अनुसार नेपाल टेलिकमले भदौ मसान्तसम्म आफ्नो फाईबरमार्फत इन्टरनेट चलाउने ग्राहकको संख्या ६ लाख ७९ हजार ६ सय १३ जना पुर्याएको छ । यो अघिल्लो महिनाको तुलनामा झण्डै ४० हजारले बढि हो ।

अघिल्लो महिना अर्थात साउन मसान्तसम्म टेलिकमको फाईबरमार्फत इन्टरनेट चलाउनेको संख्या ६ लाख ४१ हजार बढि थियो । टेलिकमले एउटै फाइबरमार्फत भ्वाईस, इन्टरनेट र भिडियो सेवा दिँदै आएको छ ।
यता टेलिकमको फाईबरमार्फत भ्वाईस सेवा प्रयोग गर्नेको संख्या भने भदौ मसान्तसम्म १ लाख ४७ हजार ६ सय २ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL