Logo

सोलुखुम्बु जिल्लामा पनि अप्टिकल फाईबर नेटवर्कमा जोडियो, फोरजी सेवाको गुणस्तर वृद्धि हुने

सोलुखुम्बु जिल्लामा पनि अप्टिकल फाईबर नेटवर्कमा जोडियो, फोरजी सेवाको गुणस्तर वृद्धि हुने



काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बु जिल्लाको उच्च हिमाली क्षेत्रमा अप्टिकल फाईबर लिंक स्थापना गरेको छ । त्यस क्षेत्रका सेवाग्राहीलाई दूरसंचारको पहुँचमा पुर्याउनका लागि टेलिकमले पहिलोपटक अप्टिकल फाईबर नेटवर्क उक्त स्थानमा पुर्याएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।

laxmi

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने टेलिकमले जानकारी दिएको छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेसमेत कम्पनीले जानकारी दिएको छ ।

विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL