Logo

अर्थसमितिले गर्याे ४ उपसमिति गठन, बैंक वित्तीय संस्थादेखि समष्टिगत आर्थिक नीति अध्ययन गरी सुझाव दिन निर्देशन

अर्थसमितिले गर्याे ४ उपसमिति गठन, बैंक वित्तीय संस्थादेखि समष्टिगत आर्थिक नीति अध्ययन गरी सुझाव दिन निर्देशन



काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले नेपालमा हुने आर्थिक क्रियाकलापको अध्ययन गर्न ४ उपसमिति गठन गरेको छ । समितिले राजस्व चुहावट, सार्वजनिक खर्च, बैंक तथा वित्तीय संस्था र समष्टिगत आर्थिक नीतिको अध्ययन गर्न ४ उपसमिति गठन गरेको हो । उक्त ४ उपसमितिले आफुले पाएको शिर्षकमा अध्ययन गरी समितिसमक्ष ४ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

जसअन्तर्गत राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन सम्बन्धी अध्ययन समितिले राजस्वसम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । यसको संयोजकमा पदम गिरी रहेका छन् । यस्तै सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले भने सार्वजनिक खर्चका विषयमा अध्ययन गर्नेछ । यसको संयोजकमा भने सत्य पहाडीलाई तोकिएको छ ।

उक्त उपसमितिले लक्ष्यअनुरुप हुन नसकेको सार्वजनिक खर्चका लागि सुझाव, सार्वजनिक खर्चमा मितव्ययिता नहुनुका कारणलगायतको बारेमा अध्ययन गर्नेछ । यस्तै समितिले गठन गरेको तेस्रो उपसमितिले भने बैंक तथा वित्तीय संस्थाहरुको अध्ययन गर्नेछ । बैंक तथा वित्तीय संस्था अध्ययन उपसमिति नाम दिईएको उक्त उपसमितिले बैंकको निक्षेप र कर्जा लगानीको अवस्थाको बारेमा विश्लेषण गर्नेछ । यस्तै उक्त उपसमितिले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको समस्या र यसका समाधानको बारेमा सुझाव समितिसामु दिनेछ । उक्त उपसमितिको संयोजकमा जुलीकुमारी महतोलाई तोकिएको छ ।

साथै अर्थ समितिले नेपालको समष्टिगत आर्थिक नीतिको अध्ययन गर्नेगरी पनि छुट्टै उपसमिति गठन गरेको छ । उक्त उपसमितिले नेपालको समष्टिगत आर्थिक नीति अध्ययन गरी सोहीअनुसार उब्जिएका समस्या र समाधानका बारेमा समितिसमक्ष सुझाव दिनेछ । यस्तै उक्त उपसमितिले नेपालका विभिन्न ५ ओटा सार्वजनिक संस्थानको सबै अध्ययन गरी यसमा उब्जिएका समस्या र समाधानका बारेमा सुझाव दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL