Logo

कोरोनाले चौपट भयो तयारी पोशाक उद्योग, ७२ प्रतिशतले घट्यो निर्यात

कोरोनाले चौपट भयो तयारी पोशाक उद्योग, ७२ प्रतिशतले घट्यो निर्यात



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) महामारीले सृजित लकडाउनका कारण विश्वसँगै नेपालको व्यापार व्यवसाय क्षेत्र चौपट भएको छ ।

करीब ७ महिनायता विश्व नै ठप्प हँुदा नेपालको निर्यात उद्योगमा गम्भीर असर परेको छ । कोरोनाकै कारण नेपालको निर्यातमा प्रमुख हिस्सा ओगट्दै आएको तयारी पोशाक उद्योग संकटमा पुगेको छ ।

नेपाल गार्मेन्ट संघका अध्यक्ष चण्डी अर्यालका अनुसार गत बर्षको तुलनामा यो बर्षको सोही अवधिमा नेपालबाट हुने गार्मेन्टको निर्यात झण्डै ७२ प्रतिशतले घटेको छ । उनका अनुसार कोरोना भाईरसको महामारीका कारण कच्चा पदार्थ ल्याउन नसक्दा र भनेजति उत्पादनसमेत गर्न नसक्दा तयारी पोशाक निर्यातमा ठूलो गिरावट आएको छ ।

‘गत बर्षभरी करिव ६ अर्ब ३७ करोड रुपैयाँबराबरको गार्मेन्ट हामीले निर्यात गरेका थियौं,’ उनले भने, ‘यो बर्ष फैलिएको महामारी र यसले निम्त्याएको बन्दाबन्दीका कारण यातायातका साधन नचलेपछि कच्चा पदार्थ पनि ल्याउन सकिएन र अर्डर पनि सोही अनुसार नआउँदा निर्यात ७० प्रतिशत बढीले घटेको छ ।’

उनका अनुसार नेपालीहरुको महान चाड दशैं नजिकिँदै जाँदा विदेशबाट आउने तयारी पोशाकको पनि कमी हुन थालेको छ । यस्तो बेलामा विदेशको सामान खपतलाई घटाएर नेपालकै सामानको उपयोग हुन सके तयारी पोशाक उद्योगले केही राहत पाउन सक्ने उनको बुझाई छ ।

नेपालका गार्मेन्ट उद्योगहरुले आफुलाई आवश्यक कच्चा पदार्थ अर्थात कपडा बाहिरबाट ल्याउने गरेका छन् । अध्यक्ष अर्यालका अनुसार उद्योगीहरुले बर्षभर निर्यात गरेको कुल हिस्साको करिव ३५ प्रतिशतजति कच्चा पदार्थ बाहिरबाट आयात गर्ने गर्दछन् ।

तर, यो बर्ष भने चैतदेखि नै लकडाउन सुरु भएपछि कच्चा पदार्थ ल्याउनै सकस भयो । जसका कारण उत्पादनमासमेत ठुलो गिरावट आउँदा निर्यातको बजारनै चौपट भएको छ । नेपालबाट अमेरिका, क्यानडा, बेलायत, भारत, चीनलगायतका राष्ट्रमा गार्मेन्ट निर्यात हुने गरेको छ ।

नेपालीहरुको महान चाड दशैँलाई व्यवसायका लागि सुवर्ण अवसरको रुपमा व्यवसायीहरुले लिने गरेका छन् । यो समयमा बजार पनि बढी नै चलायमान हुन्छ अर्थात किनमेल गर्नेहरुको घुईँचो नै देख्न सकिन्छ । जसका कारण बजारमा लत्ताकपडाहरुको व्यापार पनि सोहीअनुसारको भईरहेको हुन्छ । यअसघिका दशैंहरुमा विदेशबाट निर्यात भएका लत्ताकपडाहरुको व्यापार हुने गरेको थियो । तर यसपटक भने महामारीकै कारण बाहिरबाट तयारी पोशाक आउन नपाउने अवस्था सिर्जना भएको छ ।

यसरी बाहिरबाट तयारी पोशाक नआउँदा नेपालमा खपत हुने तयारी पोशाकको जोहोको बारेमा प्रश्न खडा भएको छ । जसको समाधान पनि नेपाली गार्मेन्ट उद्योगीहरु नै हुनसक्ने अध्यक्ष चण्डी अर्याल बताउँछन् ।

उनका अनुसार सरकारले साथ दिएर कच्चा पदार्थ मात्रै ल्याउन पाईयो भने पनि नेपाली बजारमा आवश्यक सबै लत्ताकपडा नेपालकै गार्मेन्ट उद्योगीहरुले तयार गर्न सक्छन् । ‘हामी बजारलाई चाहिनेजति लत्ताकपडा उत्पादन गर्न सक्छौं,’ उनले भने, ‘तर सरकारले केही हदसम्म हामीलाई कच्चा पदार्थ ल्याउन सकिनेगरी व्यवस्था गरिदिनुपर्छ ।’

नेपालमा हालसम्म तयारी पोशाकको ठूलो निर्यातकर्ता छिमेकी देश चीनलाई मानिन्छ । तर, दशै नजिकिँदै जाँदा पनि चीनबाट आउने कन्टेनरहरु कोरोनाका कारण नाकामै थन्किँदा व्यवसायीहरु पोहोरकै सामानले यसपटकको दशैँको व्यापार चलाउने मनसायमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL