Logo

आज लकडाउनको ६८ औं दिन : लकडाउन नयाँ मोडालिटीमा लम्ब्याउने सरकारको तयारी, जनता लकडाउन खुल्ने आशामा

आज लकडाउनको ६८ औं दिन : लकडाउन नयाँ मोडालिटीमा लम्ब्याउने सरकारको तयारी, जनता लकडाउन खुल्ने आशामा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ६८ औं दिन हो । अहिले सरकारले जारी गरेको सातौं चरणको लकडाउन चलिरहेकोे छ ।

सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा ६ जनाको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ ।

६८औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ८ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेपनि जारी लकडाउनबारे विस्तृत उल्लेख नगरेसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सम्बोधनमा प्रधानमन्त्री ओलीले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताए ।

उनले आयात निर्यातलाई थप सहज बनाउने, उद्योग धन्दा सञ्चालनको उपयुक्त वातावरण बनाउने पनि बताएका छन् प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी मुलुकमा अहिले फैलिँदो अवस्थामा रहेकोले सबैलाई सचेत र सजग बन्न आग्रह समेत गरे । तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ । अर्कोतर्फ शुक्रबारै संक्रमितको संख्या बढेर चार अंकमा पुगेको छ । शनिबार बिहानसम्म संक्रमितको संख्या १२१२ पुगेको छ ।

पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आगामी जेठ २० बाट लकडाउन खुल्ने आशामा रहेका जनताको आशामा कालो बादल देखिएको छ । जेठ २०पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि सरकारले संक्रमितको व्यवस्थापन र बिदेशबाट भित्रिएका नेपालीका लागि नै उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत कतिपयले गरिहरेका छन् ।

यस्तो अवस्थामा सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरेको छ । २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्योगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए । कोरोनाविरुद्धको लडाईं लामो हुने भन्दै संघर्ष र आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर गरिने बताएका थिए ।

स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द गर्नेछ । तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा मन्त्रालय लागिपरेको छ । उद्योगहरु संचालन हुनेछन् । त्यसका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ । कृषि कार्य गर्न छुट नै छ । विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ । उनीहरुलाई निर्माण क्षेत्रमा लगाउने तयारीका साथ सरकार लागेको छ ।कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ । राष्ट्रिय गौरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन् ।

देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो । अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइशोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ ।

सरकारले भने लकडाउनको मोडालिटीमात्र परिवर्तन गर्ने गृहकार्य गरिरहेको तर, जेठ महिना लकडाउन नहटने सरकारकै जिम्मेवार अधिकारीहरुले बताउँदै आएका छन् । सरकारलाई विभिन्न क्षेत्रबाट लकडाउन हटाउने वा जारी राख्ने भन्ने विषयमा फरक–फरक सुझाव आइरहेकाले पनि सरकार आफै लकडाउन के गर्ने भन्नेमा अन्यौलमा रहेको सरकारी अधिकारी बताउँछन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् पछिल्लो समय ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ६ सय नाघेको छ । संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास बढेपनि नेपालमा कोरोना संक्रमित धमाधम निको हुँदै गएका छन् । आइतबारसम्म नेपालका कुल संक्रमित मध्ये २०५ जना निको भएर घर फर्किइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु पनि सबै सामान्य अवस्थामा उपचाररत छन् ।

लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्ने्विरुद्ध प्रहरीले कारबाही जारी राखेको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL