Logo

दुई लाख स्मार्ट लाईसेन्स छापेर तयार, नयाँ प्रिन्टर ल्याउने प्रक्रिया अघि बढ्यो

दुई लाख स्मार्ट लाईसेन्स छापेर तयार, नयाँ प्रिन्टर ल्याउने प्रक्रिया अघि बढ्यो



काठमाडौ । यातायात व्यवस्था विभागले पछिल्लो समय २ लाखभन्दा बढी सवारीसाधन अनुमतिपत्र (स्मार्टकार्ड लाईसेन्स) छपाई गरी विभिन्न कार्यालयहरुमा पठाएको छ । नयाँ मास प्रिन्टर ल्याएयता मात्रै विभागले उक्त मात्रामा लाईसेन्स प्रिन्ट गरेर कार्यालयहरुमा पठाएको हो ।

दशैंअघि भारतीय कम्पनी मद्रास सेक्युरिटिले आपुर्ति गरेको उक्त मास प्रिन्टरले हाल दैनिक ३ देखि ४ हजार स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको छ । मेशिनको क्षमता दैनिक ६ हजार कार्ड छाप्ने भएपनि मेशिनलाई ४ घण्टा चलाउने र १ घण्टा रेस्ट गर्दा कम मात्रामा छपाई भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार हाल विभिन्न ३ सिफ्टमा कर्मचारी खटाएर लाईसेन्स छपाईको काम धमाधम भईरहेको छ । विभागले असारमा उक्त प्रिन्टरका लागि ग्लोबल टेण्डरको आह्वान गरेको थियो । सोही अनुसार भदौमा मद्रास सेक्युरिटीले उक्त प्रिन्टर नेपालमा ल्याई पुर्याएको थियो ।

हालसम्म वितरण गर्न बाँकी रहेका ७ लाखभन्दा बढी स्मार्ट लाईसेन्स यथाशीघ्र वितरण गर्ने गरी ल्याईएको उक्त प्रिन्टर ३ महिनासम्म पनि संचालनमा ल्याईएको थिएन । उक्त ३ महिनामा मेशिन जडान, सफ्टवेयर मेन्टेन्स तथा प्राविधिक तालिमलगायत जडानका कारण ढिलाई भएको थियो । तर, पुस यता सफ्टवेयर ईन्स्टलेसन गरिसकेपछि दैनिकजसो लाईसेन्स छपाईको काम भईरहेको छ ।

मासप्रिन्टर आउनुअघि विभागमा रहेका साना ५ ओटा प्रिन्टरले स्मार्ट लाईसेन्स छापिरहेका थिए । उक्त प्रिन्टरले कहिले काम नगर्ने कहिले विग्रिने भएपछि भनेबमाजिम लाईसेन्स छपाई हुन नसक्दा कतिपय सेवाग्राहीले ट्रायल दिएको १५ महिनासम्म समेत लाईसेन पाएका थिएनन । हाल पनि विभागमा भएका पुराना ५ ओटा प्रिन्टरले फाट्टफुट्ट स्मार्ट लाईसेन्स छपाईको काम गर्दै आएका छन ।

नयाँ मास प्रिन्टर ल्याउने तयारी

विभागले हालको लाईसेन्स छपाईलाई अझै सहज बनाउन छोटो प्रक्रिया पूरा गरेर नयाँ प्रिन्टर ल्याउने तयारी थालेको छ । एक प्रिन्टरको मात्रै भर पर्न नहुने भन्दै अर्काे प्रिन्टर ल्याउने तयारी गरिएको विभागका महानिर्देशक हमालले बिजखबरलाई जानकारी दिए । उनका अनुसार नयाँ ल्याउने भनिएको प्रिन्टरका लागि अब चाँडै टेण्डरका प्रक्रिया अघि बढ्नेछ ।

‘गत हप्ता विभिन्न किसिमका बाधा र राजनीतिक हलचल हुँदा हामीले यसको प्रक्रिया अघि बढाउन सकेका थिएनौं,’ उनले भने, ‘तर अब यसै हप्ताभित्र नयाँ प्रिन्टरका लागि ग्लोबल टेण्डर आह्वान गर्नेछौं ।’ उक्त प्रिन्टर ल्याएपछि प्रदेशमार्फत पनि स्मार्ट कार्ड लाईसेन्स छपाई गर्न सकिने उनको भनाई छ ।

चालु बर्षभित्रै बाँकी सबै लाईसेन्स वितरण गर्ने

विभागले अझै नेपालभरका विभिन्न यातायात कार्यालयहरुलाई ६ लाखभन्दा बढी लाईसेन्स छापेर बुझाउन बाँकी छ । उक्त बाँकी सबै लाईसेन्स चालु आवभित्रै छापेर बुझाउने योजना रहेको महानिर्देशक हमालले बताए । उनका अनुसार बाँकी रहेका लाईसेन्स वितरण गर्दा अन्य लाईसेन्स पनि थपिने छन । थपिने लाईसेन्सका लागि समेत विभागले तयारी थालिसकेको छ । वितरण गर्न बाँकी रहेका सबै लाईसेन्स वितरण गरिसकेपछि सेवाग्राहीले ट्रायल दिएको १ हप्तामै स्मार्ट लाईसेन्स पाउने गरी कार्ड छपाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL