Logo

जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै

जोहानेस जट दक्षिण एसियाका लागि विश्व बैंकको उपाध्यक्षमा नियुक्त, ३९ अर्ब डलरका परियोजना समन्वय गर्दै



काठमाडौं । विश्व बैंकले जोहानेस जटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ। उनी यसअघि उपाध्यक्ष रहेका मार्टिन राइजरको स्थानमा आउँदै छन्। जटको कार्यकाल सन् २०२५ जुलाई १ (२०८२ असार १७) देखि लागू हुनेछ।

दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँगको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै उनले करिब ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता तथा वित्तीय स्रोतहरूको समन्वय गर्ने जिम्मेवारी पाउनेछन्।

उनको नेतृत्वमा विश्व बैंकले रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धि, मानव पूँजी विकास र निजी पुँजी परिचालनजस्ता क्षेत्रहरूमा सहयोगलाई अझ सुदृढ बनाउने जनाएको छ।

डच नागरिक रहेका जोहानेस जट सन् १९९९ देखि विश्व बैंकमा कार्यरत छन्। उनले हालसालै ब्राजिलका लागि विश्व बैंकका देश निर्देशकको रूपमा काम गरेका थिए। यसअघि उनी विश्व बैंकको सञ्चालन नीति तथा देश सेवा विभाग (ओपीसीएस) अन्तर्गत रणनीति, परिणाम, जोखिम र सिकाइसम्बन्धी निर्देशकको जिम्मेवारीमा थिए। उनले बंगलादेश, भुटान र नेपालको साथै टर्की, कोमोरोज, इरिट्रिया, केन्या, रवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देश निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।

‘म विगत १० वर्षमा दक्षिण एसियाले हासिल गरेको उल्लेखनीय विकास प्रगतिको साक्षी हुन पाउँदा खुशी छु,’ जुतले भने, ‘म यस क्षेत्रमा पुनः फर्कन पाउँदा उत्साहित छु र यहाँका जनताको आत्मीयता र सांस्कृतिक विविधताबाट पुनः प्रेरित हुने आशा राखेको छु।’

जटसँग टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक तथा स्नातकोत्तर उपाधि, हार्वर्ड विश्वविद्यालयबाट कानूनको डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि उपाधि (पीएचडी) छ।

उनी अब दक्षिण एसियाका लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा तय गरिएको नयाँ दिल्ली, भारतमा कार्यरत हुनेछन्। यो विश्व बैंकको सेवा प्रवाहमा सुधार ल्याउन र सेवा लिने मुलुकहरू नजिक पुग्न गरिएको विकेन्द्रिकरण रणनीतिअनुसार हो।

प्रतिक्रिया दिनुहोस्